Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मीनको ‘चिसो वर्ष’ को पटकथालाई एक करोडको पुरस्कार

फिल्मीखबर, काठमाण्डौ, 2020/07/20
 
तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘कालो पोथी’ का निर्देशक मीनबहादुर भाम नयाँ फिल्मको तयारीमा छन् । ‘चिसो वर्ष’ फिल्मको स्क्रिप्टमा उनी विगत चार वर्षदेखि काम गरिरहेका छन् । उनले २० पटक पुनर्लेखन गरेर पटकथालाई अन्तिम रुप दिइसकेका छन् । आउँदो बैशाखबाट छायांकन सुरु हुने बताइएको फिल्मले दुई पात्रको हिमाली यात्राको कथा भन्नेछ ।
 
निर्माण नहुँदै चर्चामा रहेको ‘चिसो वर्ष’ को पटकथाले करिब १ करोड ३ लाख नेपाली रूपैयाँ बराबरको पुरस्कार जितेको छ । उक्त पुरस्कार इस्तानबुलमा आयोजित ‘टीआरटी १२ पुन्टो स्क्रिप्ट ल्याब’ ले प्रदान गरेको हो । यो ‘अन्तर्राष्ट्रिय सह-निर्माण’ का लागि प्रदान गरिने आर्थिक अनुदान हो । फिल्मलाई आर्थिक अनुदान प्राप्त भएकोमा निर्देशक भामले खुसी व्यक्त गरेका छन् । 
 
नेपाल–टर्कीको सह-निर्माणमा बन्न हुन लागेको ‘चिसो वर्ष’ को गएको बैशाखबाट छायांकन सुरु गर्ने तयारीमा निर्देशक भाम थिए । तर, कोरोना भाइरसको महामारी र लकडाउनका कारण अब आउँदो बैशाख वा जेठबाट फिल्मको छायांकन सुरु हुनेछ । ठूलो बजेटमा निर्माण हुन लागेको यो फिल्मले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अनुदान तथा पुरस्कार प्राप्त गरिसकेको छ । 
 
निर्देशक मीनका अनुसार, फिल्मले हिमाली गाउँको कथा भन्नेछ । बहुपति प्रथाको पृष्ठभूमिमा पेमा र लामाको यात्रा समेटिएको छ । यी दुई पात्र हराएका आफन्तको खोजीमा निस्कन्छन् । त्यस क्रममा उनीहरुको जीवनमा आउने उतार–चढाव एवं परिवर्तन फिल्मको मूल मर्म हो । फिल्म ‘कालो पोथी’ बाट चर्चा कमाएका भामको नयाँ फिल्म ‘चिसो वर्ष’ को दर्शकमा व्यग्र प्रतिक्षा छ ।
Most Visited News (monthly)