Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘जात्रा’ को कपी हो बलिउड फिल्म ‘लुटकेस’ ?

फिल्मीखबर, काठमाण्डौ, 2020/07/17
 
हिन्दी वा अरू विदेशी फिल्मबाट कथा र चरित्र लिने नेपाली फिल्मकर्मीको पुरानो रोग हो । विदेशी फिल्मको हुबहु नक्कल गरेर थुप्रै नेपाली फिल्म बनेका छन् । तर, यतिबेला बलिउड फिल्म ‘लुटकेस’ नेपाली फिल्म ‘जात्रा’ बाट प्रभावित भएर निर्माण भएको चर्चा चलेको छ । बिहीवार सार्वजनिक भएको ‘लुटकेस’ को ट्रेलर हेर्दा फिल्मको कथावस्तु ‘जात्रा’ सँग मिल्दोजुल्दो देखिन्छ ।
 
फिल्मको ट्रेलरमा नेपाली दर्शकहरुले ‘जात्रा’ को फोटोकपी भन्दै प्रतिक्रिया जनाएका छन् । एक मध्यम वर्गीय पारिवारको व्यक्तिले पैसाले भरिएको रातो सुटकेश भेटाएपछि उत्पन्न हुने समस्यामा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । फिल्म ‘जात्रा’ मा पनि सामान्य परिवारको एक व्यक्तिले पैसाले भरिएको बोरा भेटाएपछि उत्पन्न हुने परिस्थितिलाई रोचक ढंगले देखाइएको थियो । 
 
ट्रेलर हेरेर ‘जात्रा’ सँग फिल्मको कन्सेप्ट मात्र मिलेको हो वा प्रभावित नै भएको हो भन्न सकिन्न । यसको पुष्टि फिल्म हेरिसकेपछि मात्र हुनेछ । यद्यपि, ट्रेलरले बलिउड फिल्म ‘लुटकेस’ ‘जात्रा’ बाट प्रभावित भएको हुनसक्ने आधार भने छाडेको छ । यो फिल्म सिनेमा हलमा नभइ यही ३१ जुलाईमा ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ । राजेश कृष्णनले फिल्मको निर्देशन गरेका हुन् ।
 
‘लुटकेस’ ट्रेलर :-
 

 

कुणाल केमू, रसिका दुगल, रणवीर शौरी, विजय राज र गजराज रावको प्रमुख भूमिका रहेको फिल्मलाई फक्स स्टार स्टूडियो र सोडा फिल्म्स प्रोडक्सनले निर्माण गरेको हो । राजेश कृष्णन र कपिल सावन्तले फिल्मको कथा लेखेका हुन् । नेपाली फिल्म ‘जात्रा’ को कथाबाट प्रभावित भएको बहस सिर्जना भएपछि ‘लुटकेस’ लाई ओटीटी प्लेटफर्ममा हेर्न नेपाली दर्शक पनि आतुर छन् । 
Most Visited News (monthly)