.jpg)
पछिल्लो समय सोसल मिडिया प्लेटफर्म टिकटक निकै चर्चित एप बनेको छ । आइओएस र एन्ड्रोइडमा सर्वाधिक डाउनलोड भएका एपहरुमध्येको एक टिकटकले मानिसहरुलाई भिडियो बनाएर पोष्ट गर्ने सुविधा दिन्छ । निकै सहज तरिकाले भिडियो बनाउन सकिने, पोष्ट गर्न मिल्ने र मनोरञ्जनको माध्यम भएकाले टिकटक प्रयोगकर्ताको संख्या निकै धेरै भएको छ ।
केही वर्ष अगाडिसम्म फेसबुकमा झुण्डिने जमात अहिले टिकटकमा रमाउन थालेको छ । नेपालमा पनि यसको प्रयोग गर्नेको संख्या ठूलो छ । टिकटकबाट चम्किएका पनि कयैन् छन् । विशेषगरि शहरी क्षेत्रका युवा युवतीमा टिकटकको मोह बढ्दो छ । यसबाट नेपाली सेलिब्रेटीहरु पनि अछुतो छैनन् । अपवाद बाहेक नेपालका हरेक कलाकारको टिकटकमा एकाउन्ट छ ।
नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर समेत टिकटकको सदस्य भइसकेकी छन् । कोरोनाको महामारीका कारण सरकारले लकडाउनको घोषणा गरेपछि फुर्सदिलो भएकी उनले अहिले दैनिक रुपमा एउटा भिडियो टिकटकमा शेयर गर्ने गरेकी छन् । यसमा उनलाई पछ्याउनेको संख्या ७२ हजार छ । उनले भने जम्मा तीन जनालाई मात्र पछ्याउने गरेकी छन् ।
लामो समयदेखि फिल्म अभिनयबाट टाढा रहेकी उनलाई टिकटकले केही हदसम्म अभिनयको प्यास मेटाउने काम गरेको छ । आफूले अभिनय गरेको फिल्म ‘उपकार’ को ‘लौउन मायालु’ बोलको गीतमा नृत्य गर्दै उनले टिकटकमा डेब्यू गरेकी थिइन् । यसपछि उनले आफूले अभिनय गरेका फिल्मका गीतमा लिप्सिङ गर्दै हाउभाउयुक्त अभिनयमा भिडियो बनाउँदै आएकी छन् ।
@karishmamanadhar ❤️
♬ original sound - karishmamanadhar
उनले बनाएका टिकटक भिडियोलाई दर्शकहरुले पनि रुचाएका छन् । तर, उनी जस्तो धेरैको ‘आइडल’ कलाकार टिकटकमा रमाउनु दुःखद रहेको कतिपयको टिप्पणी छ । समयले उमेर लुट्दै गएपछि फिल्म अभिनयबाट क्रमशः टाढिँदै गएकी उनी अब टिकटकमा मात्रै सीमित हुने त होइन भन्ने चिन्ता उनका प्रशंसकमा देखिएको छ । अब फिल्ममा पनि फर्किने कि करिश्माजी !

