
हरेक व्यक्तिको एक ‘आइडल पर्सन’ हुन्छ । जसबाट उत्प्रेरित भएर पर्सनल वा प्रोफेसनल लाइफमा अगाडि बढ्ने हौसला मिल्छ । विशेषगरि सेलिब्रेटीहरु धेरैका प्रेरक व्यक्ति हुन्छन् । उनीहरु जस्तो सफल व्यक्तित्व बन्न संघर्षको मैदानमा पैताला खियाउनेहरु कयैन् छन् । राजेश हमाल र करिश्मा मानन्धरको जस्तो नाम कमाउन यो रंगिन दुनियाँमा आउनेहरुको डोब असंख्य छ ।
आम सर्वसाधारणको मात्र होइन, सेलिब्रेटीका पनि ‘आइडल पर्सन’ हुन्छन् । ‘लिलिबिली’ गर्ल जसिता गुरुङ भने बलिउडकी सुन्दरी अभिनेत्री कटरीना कैफको जीवन शैलीबाट प्रभावित रहेछिन् । यो कुरा उनको एक इन्स्टाग्राम स्टोरीले प्रस्ट्याउँछन् । बिहीवारबाट ३७ वर्षमा प्रवेश गरेकी कटरीनालाई जन्मदिनको शुभकामना दिँदै उनले इन्स्टा स्टोरीमा आफ्नो ‘क्विन’ भनेर लेखेकी छन् ।
बलिउड सेलिब्रेटीबाट प्रेरित हुने अरु पनि नेपाली कलाकार छन् । सलमान खानलाई आर्यन सिग्देल आफ्नो ‘आइडल पर्सन’ मान्छन् । रेखा थापा, अनुभव रेग्मी, श्वेता खड्का पनि उनको व्यक्तित्वबाट प्रभावित छन् । त्यस्तै, अभिनेत्री पूजा शर्मा, शाहरुख खानको ठूलो प्रशंसक हुन् । रणवीर सिंह, अक्षय कमार, दीपिका पादुकोणलाई आफ्नो ‘आइडल’ भन्ने पनि नेपाली सेलिब्रेटी छन् ।
‘लिलिबिली’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी जसिता गुरुङको पछिल्लो रिलिज फिल्म ‘लभ स्टेशन’ हो । उनी चाँडै फिल्म ‘आइ एम ट्वान्टिवान’ को छायांकनमा व्यस्त हुँदैछिन् । यसमा उनको जोडी धिरज मगरसँग बाँधिदैछ । यसपछि उनले अभिनेता अनमोल केसीसँग फिल्म ‘एन्टी हिरो’ मा काम गर्नेछ । यी दुवै अभिनेतासँग उनले पहिलो पटक रोमान्स गर्न लागेकी हुन् ।

