.jpg)
कोरोनाका कारण नेपालका अधिकांश क्षेत्र प्रभावित भएका छन् । पर्यटन, व्यापार, व्यवसाय, उद्योग, निर्माण तथा कृषिजस्ता देशका मुख्य आर्थिक खम्बाहरू डगमगाएका छन् । नेपाली फिल्म क्षेत्रलाई पनि कोरोनाले थिलथिलो बनाएको छ । लकडाउन भएदेखि यहाँ कुनै गतिविधि भएका छैनन् । तर, अन्य क्षेत्र झैँ फिल्म क्षेत्रलाई सरकारले कोरोना प्रभावित क्षेत्रमा राखेको छैन ।
आर्थिक वर्षको बजेटमा समेत उपेक्षामा परेको फिल्म क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा राख्न फिल्मकर्मीहरुले सरकारसँग माग गरिरहेका छन् । यसबीच, चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ, चलचित्र कलाकार संघको टोलीले बुधवार नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर महाप्रसाद अधिकारीसँग भेट गरेर फिल्म क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राख्न अपिल गरेका छन् ।
निर्माता संघको तर्फबाट अध्यक्ष आकाश अधिकारीले गर्भनर अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा फिल्म क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राखेर उचित सहयोग गर्दै तत्काल चलयमान बनाउन सहुलियतमा बैंकिङ कर्जा, बैंकिङ कर्जा पुर्नतालिका, लकाडाउन अवधीभरको ब्याजमा ५० प्रतिशत छुट, पुराना कर्जाको समयवधि लकडाउन खुलेपछि ६ महिना थप गर्न माग गरिएको छ ।
फिल्मलाई ५० प्रतिशत प्रोजेक्ट बैंक कर्जा उपलब्ध गराउन पनि निर्माता संघले राष्ट्र बैंकसँग माग गरेको छ । गर्भनर अधिकारीले नेपाली फिल्म क्षेत्रको समस्या सम्बोधन गर्न हरसम्भव प्रयास गर्ने आश्वासन दिएको फिल्म सम्बद्ध संस्थाहरुले बताएका छन् । सूचना तथा सञ्चार मन्त्रालयले पनि अर्थ मन्त्रालयमा फिल्म क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा राख्न पत्रचार गरेको बुझिएको छ ।

