Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘कृपया ! उहाँलाई क्षमा दिनुहोला’ : राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2020/07/15
अभिनेता राजेश हमालले हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलालाई क्षमा दिन आफ्ना प्रशंसकहरुसँग हृदयपूर्वक आग्रह गरेका छन् । मध्यरातमा फेसबुकमा एक भिडियो साझेदार गर्दै उनले एउटा कलाकारलाई आफ्नो क्षमता पस्कन सधैं प्रेरित गर्न र सकारात्मक भएर सम्बन्धित व्यक्तिको आत्म-सम्मानमा ठेस नपुग्ने गरी प्रतिक्रिया जनाउन दर्शकलाई अपिल गरेका छन् । 
 
कोरोनाले सिर्जित असामान्य परिस्थितिमा फिल्म क्षेत्र वादविवादमा फसेकोमा दुःख व्यक्त गर्दै उनले भनेका छन्, ‘सार्वजनिक स्थलमा फिल्मकर्मीहरुले दिनुभएको अभिव्यक्तिलाई लिएर दर्शकहरुले आफ्नो प्रतिक्रिया राख्दै आउनुभएको छ । कला क्षेत्र, जोसँग म संलग्न छु । निःसन्देह त्यसमा दर्शकहरुले दिनुभएको सल्लाह, सुझाव तथा भनाईले अहम भूमिका निर्वाह गर्दछ ।’
 
 
दर्शक र कलाकारबीच अटुट सम्बन्ध रहेको बताउँदै उनले भनेका छन्, ‘दर्शकहरुले बेला बखतमा दिने सल्लाह तथा सुझावहरुले हामीलाई आफ्नो कला अझ परिस्कृत र परिमार्जित हिसाबले प्रस्तुत गर्न प्रेरणा दिन्छ । र, दर्शकहरुले पनि हामी कलाकारहरुले सम्प्रेशण गर्ने विचारलाई आत्मसात् गर्नुहुन्छ । त्यो भनेको दर्शक र कलाकारबीच नंग र मासुको जस्तो सम्बन्ध छ ।’ 
 
झण्डै ९ मिनेटको भिडियोमा अभिनेता हमालले दीपाश्रीको नाम कतै पनि उच्चारण गरेका छैनन् । उनले सम्बन्धित व्यक्ति वा मेरो सहकर्मीलाई क्षमा दिन दर्शकसँग आग्रह गरेका छन् । सबैको सम्मान गर्न आग्रह गर्दै उनले कसैको अभिव्यक्तिप्रति ठाडो प्रतिक्रिया जनाउनु राम्रो नहुने बताएका छन् । उनले दर्शकबाट आफूले सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेको बताएका छन् ।
 
उनले प्रश्न गर्दै भनेका छन्, ‘के एउटा व्यक्तिले पेशागत हिसाबले होस् वा व्यक्तिगत रुचीले लक्षित भएर किन नहोस्, कुनै अभिव्यक्ति राख्नुहुन्छ भने एक्कासी त्यस्ता किसिमको प्रतिक्रिया दिने, जसले त्यो व्यक्तिको मानवतामा आँच आउने, आघात पुग्ने र चोट लाग्ने  कार्य गर्नु सही होला र ?’ उनले आफूमा त्यस्ता अभिव्यक्तिलाई नजरअन्दाज गर्ने सहिष्णुता रहेको बताएका छन् । 
 
उनले भने, ‘मलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने ममा त्यो सहिष्णुता छ । त्यस्ता किसिमका भनाईहरुलाई नजरअन्दाज गरेर आफ्नो कार्यमा अगाडि बढिरहने सहिष्णुता ममा छ । र, त्यो सहिष्णुता दर्शकहरुले दिनुभएको उर्जाबाटै प्राप्त भएको हो । त्यसैले म दर्शकहरुलाई हृदयदेखि अनुरोध गर्न चाहन्छु कि कसैको मानवतामा आँच नपुग्ने गरी अभिव्यक्ति प्रकट नगर्नुहोला ।’
 
कला क्षेत्र कुनै व्यक्ति विशेषको नभएर दर्शकहरुको पनि रहेको उनको भनाई छ । उनी भन्छन्, ‘मैदानमा हामी उत्रिए पनि त्यसको उर्जा तपाईंहरुबाटै प्राप्त हुन्छ । त्यसकारण हाम्रो सिर्जना र कलामा तपाईंहरुको भूमिका रहन्छ । म तपाईंहरुलाई अनुरोध गर्न चाहन्छु कि यो राष्ट्रको कला क्षेत्र वा मानवताका लागि एकदमै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला ।’
 
निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाललाई लक्षित गरी ‘महानायक पनि हुनुहुन्छ र ?’ भन्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा उनीमाथि गालीको वर्षा भइरहेको छ । उनले आफूबाट गल्ती भएको भन्दै माफी माग्दा पनि उनीमाथि गाली गलौज रोकिएको छैन । हमालको आग्रहसँगै अब यो विषय साम्य हुने फिल्मकर्मीले विश्वास लिएका छन् । 
 
हेर्नुस् भिडियो :-
 

Most Visited News (monthly)