Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउडमा पाइला राखेका नेपाली सेलिब्रेटी

फिल्मीखबर, काठमाण्डौ, 2020/07/14
भारतको मुम्बईलाई सपनाको शहर भन्ने गरिन्छ । त्यहाँ आफ्नो सपना पूरा गर्न संघर्ष गर्नेहरु लाखौंमा छन् । त्यही शहरमा कतिका सपना साकार भए । कतिका आधा अधुरै । त्यो शहरमा संघर्ष गरेर नाम कमाएका नेपालीहरु पनि धेरै छन् । यसको एक उदाहरण हुन्, मनीषा कोइराला । मुम्बईले उनलाई नाम र दाम दुवै दियो । र, उनको सफलताले विश्वमा नेपाललाई पनि चिनायो । 
 
९० को दशकमा उनले बलिउडमा आफूलाई बलियो रुपमा उभ्याएकी थिइन् । त्यसताका उनलाई ‘बलिउडकी क्विन’ समेत भन्ने गरिन्थ्यो । सन् १९८९ मा नेपाली फिल्म ‘फेरि भेटौंला’ बाट अभिनय करिअर सुरु गरेकी उनले १९९१ मा आएको फिल्म ‘सौदागर’ बाट बलिउड फिल्म इन्डस्ट्रीमा अभिनेत्रीको रुपमा प्रवेश पाएकी थिइन् । त्यसबेलादेखि उनी बलिउड फिल्ममा सक्रिय छिन् । 
 
मनीषासँगै केही नेपाली कलाकारहरुले पनि बलिउडमा आफ्नो राम्रो छाप छाडेका छन् । फिल्म ‘कुशुमे रुमाल’ का अभिनेता तथा गायक उदित नारायण झा बलिउडका सर्वाधिक सफल गायकमा पर्छन् । १९७० मा रेड‍ियो नेपालमा मैथ‍िली गायकको रुपमा करिअर सुरु गरेका उनले एक दशक नेपाली गीतमा आवाज दिए । १९८० बाट उनले भारतीय गीत गाउन थालेका हुन् । 
 
 
नेपाली क्र‍िश्च‍ियन पर‍िवारमा जन्मिएकी माला सिन्हालाई पनि बलिउडकी सफल अभिनेत्रीको रुपमा लिने गरिन्छ । उनले सन् १९६६ को नेपाली फिल्म ‘माइती घर’ मा अभिनय गरेकी थिइन् । यसपछि उनी बलिउड फिल्ममा सक्रिय भइन् । बंगाली फिल्मबाट अभिनय करिअर सुरु गरेकी उनले ‘जिद’, ‘राधा का संगम’, ‘धन दौलत’ लगायतका हिन्दी फिल्ममा अभिनय गरेकी छन् । 
 
नेपाली फिल्मका चर्चित भिलेन सुनील थापा पनि हिन्दी फिल्मका लोकप्रिय अनुहार हुन् । ‘राते काइला’ को उपमाले चिनिने उनले सन् १९८१ मा आएको फिल्म ‘एक दूजे के लिए’ बाट अभिनयमा डेब्यू गरेका थिए । यसपछि उनले कयौं हिन्दी फिल्ममा काम गरे । तर, उनलाई सन् २०१४ मा आएको प्रियंका चोपडा स्टारर फिल्म ‘मेरी कोम’ ले बलिउडमा अलग पहिचान दिलाएको थियो । 
 
बलिउड फिल्ममा आफ्नो उपस्थिति जनाउन सफल अभिनेत्रीमा झरना बज्राचार्य पनि पर्छिन् । आधा दर्जन नेपाली फिल्ममा अभिनय गरेकी उनले सन् २००४ मा आएको बलिउड फिल्म ‘लभ इन नेपाल’ मा भारतीय गायक सोनू निगमसँग अनस्क्रिन रोमान्स गरेकी थिइन् । नेपाली फिल्मका उम्दा कलाकारमा गनिने भोलाराज सापकोटाले पनि बलिउड फिल्ममा काम गरिसकेका छन् । 
 
‘बर्फी’ फिल्ममा भोलाराज बलिउड सुपरस्टार रणबीर कपूरको साथीको भूमिकामा देखिएका थिए । यसमा उनको अभिनय निकै रुचाइएको थियो । नेपाली मुलकी गायिका पूर्ण‍िमा श्रेष्ठ पनि बलिउडकी चर्चित प्लेब्याक सिंगर हुन् । त्यस्तै, नेपाली फिल्मकी अभिनेत्री उषा पौडेलले पनि भारतका केही चर्चित सिरियलमा अभिनय गरेकी छन् । यद्यपि, अहिले उनी अमेरिकामा छन् ।
Most Visited News (monthly)