.jpg)
कोरोना भाइरसको जोखिम रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनमा नेपाली फिल्म क्षेत्र जति विवादित अन्य क्षेत्र भएन । कलाकारहरुको तमासाले हरेक हप्ता फिल्म क्षेत्र तात्यो । कोही कालो चिया बनाउन सिकेको कुराले ट्रोलको शिकार भए । कसैलाई नेपाल-भारत सीमा विवादले भारतीय साथीसँग अनुहार देखाउन गाह्रो भएको अभिव्यक्तिले रुनु न हाँस्नु बनायो ।
कोही भने नेपालमा १४ जिल्ला रहेको बताएपछि आलोचनाको पात्र बने । यतिबेला निर्देशक दीपाश्री निरौला विवादमा घेरिएकी छन् । अभिनेता राजेश हमालको ‘महानायक’ पदवीमाथि प्रश्न उठाएपछि उनीमाथि पचाउनै नसक्ने शब्दमा गाली गलौच भइरहेको छ । यो विषय यतिबेला यसरी दन्किरहेको छ, कि मनौं राजेश हमाललाई ‘महानायक’ स्वीकार नगरे समाजबाटै बहिष्कृत भइन्छ ।
संसारमा कहिँ ‘महानायक’ को स्पष्ट परिभाषा छैन । यसकारण राजेश हमाललाई जबर्जस्ती रुपमा ‘महानायक’ मान्नु पर्ने आधार नभएको एकथरीको तर्क छ । अर्काथरी भने फिल्म क्षेत्रमा राजेश हमालले पुर्याएको योगदानको सम्मानका लागि पनि ‘महानायक’ मान्नु पर्ने बताउँछन् । फिल्म क्षेत्रको चौघेरा नाघिसकेको यो विषयप्रति अहिले हरेक क्षेत्रका व्यक्तिहरुको चासो बढेको छ ।
राजेश हमाललाई ‘महानायक’ मान्ने वा नमान्ने विषयमा बहस चर्किरहँदा गत वर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले यस विषयमा फरक मत राखेका छन् । उनको विचारमा अहिलेसम्म नेपाली फिल्म क्षेत्रमा ‘महानायक’ को उपाधिका हकदार जन्मिएका छैनन् । राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठ कोही पनि ‘महानायक’ नभएको उनको तर्क छ ।
उनले फेसबुकमा लेखेका छन्, ‘मेरो विचारमा राजेश, भुवन, शिव (श्रेष्ठ) कोही पनि महानायक होइनन् । उनीहरु आफ्नो समयका सफल अभिनेता मात्र हुन् । तीनै जनाले कालजयी फिल्म खेल्न बाँकी नै छ । इतिहासको समीक्षा गर्न र सत्य बोल्न किन डराउने ?’ निर्देशक लामाको यो स्टाटसमा केहीले उनलाई दीपाश्री निरौलाको पक्ष लिएर नुनको सोझो गरेको आरोप लगाएका छन् ।

