Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

दीपाश्रीको पक्षमा फिल्मकर्मीको एउटै बोली- ‘गाली गलौच बन्द गरौं’

फिल्मीखबर, काठमाण्डौ, 2020/07/12
अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो । संवैधानिक कानुनमा यसलाई संविधानवादको अनिवार्य सर्तका रुपमा लिइन्छ । यही अधिकार प्रयोग गर्दै अभिनेत्री तथा ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले राजेश हमालको ‘महानायक’ पदवीमाथि प्रश्न उठाइन् । तर, उनको यो अभिव्यक्ति हमाललाई ‘महानायक’ को रुपमा स्वीकार गरेका प्रशंसकलाई सह्यै भएन । 
 
 
गएको एक हप्तादेखि सामाजिक सञ्जालमा दीपाश्रीमाथि तल्लो स्तरसम्म ओर्लिएर गाली गलौच भइरहेको छ । फिल्मकर्मीहरु पनि राजेश हमाललाई ‘महानायक’ भन्ने वा नभन्ने विषयमा विभाजित भएका छन् । कोही सरकारले नै उनलाई ‘महानायक’ को उपाधि दिनुपर्ने भन्दै मिडियामा कुर्लिरहेका छन् । भने, कोही धेरै फिल्म खेल्दैमा ‘महानायक’ भन्न मिल्ने तर्क पेश गरिरहेका छन् । 
 
निर्देशक दीपाश्रीले ‘महानायक को हो ?’ भनेर दिएको अभिव्यक्तिलाई दर्शकहरुले दुई/चारवटा फिल्म हिट भएपछि घमण्ड पलाएको भन्दै सामाजिक सञ्जालमा अश्लिल गाली गलौच गरिरहेका छन् । उनले हमालका प्रशंसकहरुसँग माफी मागिसक्दा पनि गालीको वर्षा रोकिएको छैन । उनीमाथि भइरहेको दुर्व्यवहार रोक्न हमाल आफैंले आह्वान गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
 
‘महानायक’ को विवादमा दीपाश्रीमाथि सामाजिक सञ्जालमा गाली गलौच नरोकिएपछि फिल्मकर्मीहरुले यस्तो कार्य बन्द गर्न आग्रह गरेका छन् । प्रियंका कार्की, रेखा थापा, केकी अधिकारी, आकाश अधिकारी, प्रदीप कुमार उदय, केदार घिमिरे, सरिता लामिछाने, किरण केसीलगायतले दीपाश्रीको पक्षमा बोल्दै अशिष्टताको प्रदर्शन गर्नु निन्दनीय रहेको बताएका छन् । 
 
अभिनेत्री प्रियंका थापाले फेसबुकमा स्टाटस लेख्दै दीपाश्रीको विवादमा आफ्नो ध्यान आकर्षण भएको उल्लेख गरेकी छन् । कसैको तर्क, भाव या विचार चित्त नबुझे आवाज उठाउन पाउने अधिकार सबैमा सुरक्षित भए पनि कसैलाई अश्लिल गाली गलौच र चरित्र हत्या गर्न नमिल्ने उनको भनाई छ । गलत बयानका आधारमा कसैको चरित्रमा दाग नलगाउन पनि उनको आग्रह छ ।
 

 

कलाकार केदार घिमिरेले आफ्नो गल्तीको माफी मागिसकेको अवस्थामा गाली गलौच गर्नु राम्रो नभएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘म पनि महानायक राजेश दादासँग व्यक्तिगत रुपमा माफी माग्दछु । अघिपछि राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे, त्यो दिन दिदीको ठुलै दशा रैछ। गल्ती मान्छेबाटै हुने हो, सच्चिएर अगाडी बढ्ने मौका दिनुहोस् ।’

 

 

अभिनेत्री रेखा थापाले कानुनी राज्य नभएको जस्तो गरेर असभ्य शब्दहरु प्रयोग गर्नेले एकपटक सोच्नुपर्ने बताएकी छन् । अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत स्वस्थ आलोचना गर्न पाइने तर आपत्तिजनक शब्द बोल्न र लेख्न नपाइने उनको भनाई छ । निर्माता प्रदीप कुमार उदयले भने दीपाश्रीमाथि भएको अश्लिल टिप्पणीप्रति फिल्मकर्मीहरूको ध्यान जान जरुरी रहेको बताएका छन् । 
 

 

कलाकारहरुको छाता संस्था चलचित्र कलाकार संघले कलाकार तथा निर्देशक दीपाश्रीमाथि सामाजिक सञ्जालमा भइरहेको तल्लो स्तरको गाली गलौच र अश्लिल टिप्पणीप्रति निन्दा गरेको छ । संघले शनिवार विज्ञप्ती जारी गर्दै राम्रा र सभ्य भाषामा आलोचना गर्न आग्रह गरेको छ । संघले तत्काल उब्जिएका विवाद र समस्यालाई बिर्सिएर विवादको जड अन्त्य गर्न पनि अपिल गरेको छ ।
 

Most Visited News (monthly)