Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पारिश्रमिक घटाउन पल र स्वस्तिमा तयार

फिल्मीखबर, काठमाडौं, 2020/07/11
२०७२ सालको महाभूकम्पपछि मुश्किलले तंगिएको नेपाली फिल्म क्षेत्र यतिबेला कोरोनाको महामारीले थलाएको छ । यसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेदेखि फिल्म निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । सिनेमा हल लकडाउन हुनुभन्दा अगावैदेखि बन्द भएका थिए । फिल्मसँग सम्बन्धित सबै कार्य रोकिँदा यस क्षेत्रमा आश्रित हजारौं बेरोजगार भएका छन् ।
 
लकडाउनले सबैभन्दा ठूलो समस्या फिल्म प्राविधिकहरुलाई भएको छ । दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउने उनीहरुलाई फिल्म निर्माणको काम ठप्प हुँदा बिहान बेलुका हातमुख जोर्न समेत सकस भएको छ । फिल्म सम्बन्धि विभिन्न संघ संस्था तथा व्यक्तिहरुले आर्थिक वा खाद्यन्न सहयोग गरिरहे पनि सरकारबाट अहिलेसम्म कुनै प्रकारको राहत प्राप्त हुन सकेको छैन ।
 
 
कोरोनाले थिलथिलो बनाएको फिल्म क्षेत्र पहिलेकै अवस्थामा कहिले फर्किन्छ, कुनै टुंगो छैन । सरकारले भीडभाड हुने अन्य क्षेत्र  सञ्चालनका लागि अनुमति दिए पनि फिल्म क्षेत्र खोल्ने बारेमा कुनै निर्देशिका बनाएको छैन । न त यस क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा नै राखिएको छ । बजेटमा समेत उपेक्षामा परेको यो क्षेत्र कोरोनापछि कसरी गतिशील होला ? अन्योलको स्थिति छ ।
 
स्थिति सामान्य भएपछि फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्म निर्माणको गति बढाउनु पर्ने कतिपयको तर्क छ । यसका लागि अहिलेका चल्ती कलाकारले पारिश्रमिक घटाउनु पर्ने फिल्मकर्मीहरु बताउँछन् । के पहिलाको भन्दा कम पारिश्रमिकमा काम गर्न तयार छन् त कलाकारहरु ? अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्का यो कुरामा सकारात्मक देखिएका छन् ।
 
शुक्रवार सञ्चारकर्मीसँग कुराकानी गर्दै पलले आफूले पहिला लिने पारिश्रमिकभन्दा २५ प्रतिशत कम गरेर म्यूजिक भिडियो गरिरहेको र फिल्ममा पनि पारिश्रमिक घटबढ गर्न तयार रहेको बताएका छन् । ‘पारिश्रमिक घटाउने विषयमा टेवल टक गर्नुपर्छ । कलाकारले मात्र पारिश्रमिक घटाउने भन्ने चाहिँ हुँदैन । तर, सबैले पारिश्रमिक कम गर्न राजी भए म पनि तयार छु,’ उनले भने ।
 
त्यस्तै, अभिनेत्री स्वस्तिमा खड्का स्थिति सामान्य भएपछि कलाकारले पारिश्रमिक कम गर्ने विषयमा सोच्नु पर्ने बताउँछिन् । ‘कोरोनाले सबैभन्दा ठूलो मारमा प्राविधिकहरु परेका छन् । हामीले पारिश्रमिक कम गर्दा उहाँहरुलाई सजिलो हुन्छ भने त्यो गर्नुपर्छ,’ उनी भन्छिन्, ‘म पनि पारिश्रमिक कम गर्न तयार छु । तर, फिल्मको उद्येश्य बुझेर मात्र पारिश्रमिक घटाउने छु ।’
Most Visited News (monthly)