Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोरोनाबाट प्रभावित फिल्मको विवरणमा छानविन गर्न माग

फिल्मीखबर, काठमाण्डौ, 2020/07/09
 
चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डलाई बुझाएको कोरोनाबाट प्रभावित फिल्मको विवरणलाई लिएर फिल्मकर्मीहरुले विरोध जनाएका छन् । विकास बोर्डले कोरोनाले असर पारेका फिल्मलाई राहत दिँदैछ । त्यसका लागि निर्माता संघसँग वास्तविक प्रभावित फिल्मको विवरण मागेको थियो । तर, निर्माता संघले निर्माण नै नभएका फिल्मको नाम समेत बोर्डमा पठाएको छ । 
 
निर्माता संघले कोरोनाबाट प्रभावित फिल्मको विवरण बुझाउन निर्मातालाई सूचना जारी गरेको थियो । बोर्डबाट राहत पाउने लोभमा निर्माताले निर्माण नै नभएका र दराजमा थन्किएर बसेका फिल्मको समेत विवरण बुझाएका थिए । निर्माताबाट प्राप्त विवरण निर्माता संघले छानविन नै नगरी बुझाएपछि फिल्मकर्मीहरुले विकास बोर्डसँग गम्भीर छानविन गर्न माग गरेका छन् ।
 
निर्माता संघले कोरोनाबाट प्रभावित भन्दै ६४ फिल्मको सूची बोर्डमा बुझाएको थियो । यसमा निर्माता संघका महासचिव रोज राणाले नै असहमति जनाएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै कोरोनाबाट प्रभावित वास्तविक फिल्मलाई मौका दिनुपर्नेमा अन्यथा भएकोमा आफ्नो असहमति रहेको उल्लेख गरेका छन् । उनको कुरामा निर्देशक केपी पाठकले समर्थन जनाएका छन् ।
 

निर्माता रोजको स्टाटसमा पाठकले लेखेका छन्, ‘मेरो मत पनि यस्तै हो, थप बोर्डले आर्थिकभन्दा पनि बजारिकरणको लागि नितिगत योजनामा सहयोग गर्नपर्छ ।’ त्यस्तै, निर्देशक सम्झना उप्रेती रौनियार, ऋषि लामिछानेलगायतले पनि निर्माता संघले बोर्डमा बुझाएको फिल्मको विवरणमा असहमति जनाउँदै यसबारे चलचित्र विकास बोर्डले गम्भीर छानविन गर्नुपर्ने बताएका छन् ।
 
निर्माता प्रदीप कुमार उदयले जथाभावी रुपमा कोरोनाबाट प्रभावित फिल्मको सूची बनाएर चलचित्र विकास बोर्डमा बुझाउँदा वास्तविक कोरोनाबाट प्रभावित फिल्मले न्याय पाउला त ? भनेर प्रश्न उठाएका छन् । निर्माता संघले छानविन नगरी जथाभावी रुपमा फिल्मको सूची बोर्डमा बुझाएकोमा आपत्ति जनाउँदै उनले वास्तविक प्रभावित फिल्मले न्याय पाउनु पर्ने बताएका छन् । 
 
बोर्डमा बुझाइएको कोरोनाबाट प्रभावित फिल्मको विवरणमा फिल्मकर्मीले विरोध जनाएपछि निर्माता संघको तर्फबाट कोषाध्यक्ष सुशील पोखरेलले आधिकारिक धारणा सार्वजनिक गरेका छन् । निर्माताले भरेको फारमको विवरणलाई नजरअन्दाज गर्ने, निवेदन नलिने र निवेदन लिएपछि सम्बन्धित निकायमा नपठाउने र पक्षपात गर्ने बैधानिक अधिकार नभएको उनले बताएका छन् । 
 

निर्माता संघले बुझाएको विवरणमा बोर्डले छानविन गर्ने उनको विश्वास छ । बोर्डमा बुझाइएको कोरोना प्रभावित फिल्ममा ‘दि होल टाइमर, पारस, २ नम्बरी, म यस्तो गीत गाउँछु २, प्रेमगीत ३, हिरो रिटर्न्स, झिंगे दाउ, उल्झन, पोखराकी काली, मन्त्र, हली, सम्हालिन्छ कहिले मन, हिजो आजका कुरा, लक्का जवान, मन परेसी, लिम्बो, ए मेरो हजुर ४, गोर्खे, हृदयभरि’ लगायत छन् । 
Most Visited News (monthly)