Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.71/5.00)
Text size:-
+
-

अरुण थापाको बायोपिक निर्माण नहुँदै विवादमा

फिल्मीखबर, काठमाडौं, 2020/07/09
प्रेमकथामा फिल्म निर्माण गर्न सिपालु मानिने निर्देशक दिनेश राउत र अहिलेका हटकेक अभिनेता प्रदीप खड्काले पहिलो पटक नयाँ फिल्मका लागि टिमअप गर्दैछन् । उनीहरुको पहिलो जुगलबन्दी कस्तो हुने हो भन्ने अहिले धेरैलाई चासोको विषय बनेको छ । अर्को वर्षबाट छायांकन सुरु हुने अनटाइटल प्रोजेक्टको केही हप्तादेखि स्क्रिप्ट लेखनमा काम भइरहेको बताइएको छ । 
 
फिल्म कस्तो कथावस्तुमा बन्न लागेको हो भन्ने जानकारी निर्माण टिमले दिएको छैन । तर, केही दिनयता फिल्मवृतमा ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’ बोलका चर्चित गायक अरुण थापा मगरको बायोपिकमा फिल्म निर्माण हुन लागेको चर्चा चलिरहेको छ । ५० वर्ष अगाडिको सेटअपमा तयार पारिने फिल्ममा अभिनेता प्रदीपले गायक थापाको भूमिका निर्वाह गर्ने बताइएको छ । 
 
 
गायक अरुण थापाको बायोपिक बन्न लागेको कुराले उनका प्रशंसकहरु खुसी भए पनि कलाकार छनोटलाई लिएर विवाद सुरु भएको छ । मंगोलिन अनुहारका अरुण थापासँग आर्यन अनुहारका प्रदीप खड्का नसुहाउने भन्दै निर्माण टिमलाई कास्टिङ परिवर्तन गर्न र सोच-विचार गरेर फिल्म बनाउन अरुण थापासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न संघ संस्थाहरुले आग्रह गरेका छन् । 
 
मगर फिल्मका निर्देशक संजोग लाफा मगरले बुधवार फेसबुकमा एक स्टाटस लेख्दै गायक अरुण थापाको बायोपिक बन्न लागेको कुराले खुसी तुल्याए पनि ‘मिस–कास्टिङ’ भएकोमा निर्माण टिमको ध्यान आकर्षण गराएका छन् । उनले कास्टिङ परिवर्तन नगरे फिल्म प्रदर्शनको समयमा वा अन्य समयमा हुने विरोधको सम्पूर्ण क्षति निर्माताले बेहोर्नु पर्ने चेतावनी पनि दिएका छन् । 
 
संजोग लाफाले लेखेका छन्, ‘गायक अरुण थापा मगरको जिवनीमा चलचित्र निर्माण गर्ने समाचारले मनमा खुसीको तरंग दौडियो । अरुण थापा मगरको भूमिकामा प्रदिप खडका रहने भनेपछि चलचित्रलाई सतही रुपमा हेरिएको रहेछ भन्ने महशुस गरेँ । पहिलो गाँसमा ढुंगा भनेझैं मङ्गोल अनुहारको अरुण थापा मगर र आर्यन अनुहारको प्रदिप खडका । आकाश पतालको फरक ।’ 
 
बायोपिक फिल्ममा कलाकार छनोट महत्वपुर्ण हुने भएकाले यस्तो दुर्भाग्यपूर्ण निर्णय नगर्न उनको सुझाव छ । संजोगले अगाडि थपेका छन्, ‘२५ बर्षअघि युवराज लामा दाईले ‘सुम्निमा’ चलचित्रमा मनिषा कोइरालाजीलाई सुम्निमाको भूमिकामा राखेर चलचित्र निर्माण गर्ने घोषणा गरेपछि चौतर्फी विरोध भएको थियो । ‘मिस–कास्टिङ’ गलत भूमिकाको कारणले त्यो फिल्म बन्न सकेन ।’ 
 
प्रदर्शनको समयमा वा अन्य दिन फिल्मको विरोध भएमा सम्पूर्ण क्षति निर्माताको हुने चेतावनी दिँदै उनले धेरै सोच-विचारका साथ फिल्म निर्माण गर्न निर्मातालाई अनुरोध गरेका छन् । ‘अरुण थापा मगरसँग प्रत्यक्ष सरोकार उहाँको परिवार, सालिक निर्माण समिति, प्रतिष्ठान, नेपाल मगर संघ भएकोले गम्भिर ध्यान आकर्षण गराउन चाहन्छु,’ संजोग लाफा मगरले लेखेका छन् । 
 
 
अरुण थापाको बायोपिकमा कास्टिङलाई लिएर विवाद उत्पन्न भएपछि निर्देशक दिनेश राउतले आफूले गायक थापाको जीवनीमा फिल्म बनाउन लागेको र त्यसमा प्रदीप हुने कुरामा सत्यता नभएको बताएका छन् । ‘कसैको जीवनमाथि फिल्म बनाउँछु भनेर सोच्न पाइन्छ । तर, मैले अरुण थापाको जीवनीमा फिल्म बनाउँछु भनेर घोषणा गरेको छैन । प्रदीपसँग गर्ने भनिएको फिल्म अर्को पनि त हुनसक्छ,’ उनले भनेका छन् ।
 
उनका अनुसार, गायक अरुण थापाको स्मृतिमा गठन भएको प्रतिष्ठानले उनको जीवनीमा फिल्म बनाउन लागेको हो । निर्देशक राउतले फोनवार्तामा भने- ‘गायक अरुण थापाको जीवनीमा फिल्म बनाउने भयौं भने सबै प्रक्रिया पूरा गरेर बनाउँछौं । अहिलेसम्म न फिल्म बनाउने कुनै टुंगो भएको छ न त प्रदीप नै फाइनल भएका छन् । वास्तविकता नबुझी विवाद गर्नु राम्रो होइन ।’ 
Most Visited News (monthly)