.jpg)
चितवन मेडिकल कलेजमा उपचाररार्थ फिल्म निर्देशक किशोर चौधरीलाई चलचित्र निर्देशक समाजको पहलमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विगत ४ महिनादेखि कलेजो सुन्निने तथा उच्च रक्तचापको उपचार गराइरहेका उनलाई चलचित्र विकास बोर्डको कल्याणकारी कोष तथा अमेरिका निवासी फिल्म निर्देशकहरुबाट प्राप्त आर्थिक सहयोग प्रदान गरिएको हो ।
कोराना भाइरसको महामारीको समयमा पनि अमेरिकाबाट प्राप्त सहयोगको लागि चलचित्र निर्देशक समाजले आभार व्यक्त गरेको छ । यसबाट विश्वभरी छरिएर रहेका फिल्म निर्देशकहरु अप्ठ्यारो परेको समयमा सबै एकजुट हुने सन्देश प्रवाह भएको समाजका महासचिव जनकदीप पराजुलीले बताए । उनका अनुसार, केही दिनदेखि निर्देशक चौधरीको घरमै उपचार भइरहेको छ ।
अमेरिकामा बसोबास गर्ने फिल्म निर्देशकहरुबाट प्राप्त ४२ हजार ६ सय ९७ रुपैयाँ र नेपाल चलचित्र विकास बोर्डको कल्याणकारी कोषबाट प्राप्त २५ हजार रुपैयाँ गरि कूल ६७ हजार ६ सय ७९ रुपैयाँ निर्देशक चौधरीको परिवारलाई हस्तान्तरण गरिएको हो । फिल्म ‘मिस कल’ का निर्देशक चौधरी लेखक, निर्माता, गीतकार, नृत्य निर्देशकसँगै कुशल सम्पादक पनि हुन् ।

