कोरोना भाइरसका कारण सरकारले लकडाउनको घोषणा गरेदेखि फिल्म निर्माणदेखि प्रदर्शनसम्म सबै रोकिएको छ । जसको प्रत्यक्ष मारमा निर्मातादेखि प्राविधिकसम्म परेका छन् । निर्माण भइसकेका फिल्म प्रदर्शन हुन नपाउँदा निर्माताको करोडौंको लगानी जोखिममा परेको छ । त्यस्तै, फिल्म सम्बन्धि सबै कार्य ठप्प हुँदा प्राविधिकहरुलाई हातमुख जोर्नै समस्या भएको छ ।

संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा सरकारले तत्काल फिल्म क्षेत्र पुनः सञ्चालनको अनुमति दिने सम्भावना न्यून छ । किनकि, भिडभाड हुने क्षेत्र भएकाले संक्रमणको जोखिम उच्च हुन्छ । सरकारले फिल्म प्रदर्शन र निर्माण खुल्ला गरेको खण्डमा पनि लगभग ६ महिना न हलमा दर्शकको भीड लाग्नेछ न त फिल्म प्रदर्शन गर्न निर्माताले आँट जुटाउनै सक्नेछन् ।
स्थिति सामान्य भएर सिनेमा हल नखुलेसम्म निर्माता/निर्देशकहरु फिल्मका प्रचार सामाग्री सार्वजनिक गर्ने पक्षमा देखिएका छैनन् । यद्यपि, केही फिल्मका गीतसंगीत भने लकडाउनकै समयमा सार्वजनिक भए । यसबीच, फिल्म ‘मेरो दिल’ को गीत पनि सार्वजनिक भएको छ । ‘उनी र म..’ बोलको गीतमा करणराज गिरीको स्वर र संगीत छ भने नारायण जलनको शब्द छ ।
रेखा शाह र नरेश योगीले कोरियोग्राफी गरेको गीतको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडी फिचर छन् । नवीन पन्तले निर्देशन रहेको फिल्मलाई विनोद सापकोटाले खिचेका हुन् । फिल्मको निर्मातामा गीता शर्मा, सलिना लामा, हरि शर्मा र टेरिसा खड्का छन् । फिल्म लकडाउन खुलेपछि प्रदर्शन गरिने बताइएको छ । फिल्म प्रेमकथामा आधारित भएर निर्माण भएको हो ।
गीत हेर्नुहोस् :-

