फिल्मको व्यापारमा गीतसंगीतको पनि ठूलो भूमिका रहन्छ । गीत हिट भयो भने फिल्मको ब्रान्डिङ हुन्छ र त्यसको प्रभाव बक्सअफिसमा पर्छ । गीतसंगीतका कारण फिल्मले मुनाफा कमाएका उदाहरण यहाँ धेरै छन् । ‘छक्का पञ्जा’, ‘नाईं नभन्नू ल’ र ‘ए मेरो हजुर’ सिरिज यसका उदाहरण हुन् । गीत चलेर फिल्मले भने बक्सअफिसमा घुँडा टेकेका उदाहरण पनि कम छैनन् ।
गएको चार महिना अगाडि यूट्युबमा सार्वजनिक भएको फिल्म ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ गत वर्षको सर्वाधिक रुचाइएको गीतमध्ये एक हो । अहिलेसम्म यो गीतमाथि डेढ करोडभन्दा बढीको नजर परिरहेको छ । १ लाख ११ हजार लाइक्स मिलेको गीतलाई ५ हजारभन्दा बढी तारिफले भरिएका कमेन्ट प्राप्त छन् । गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ ।

बलिउड फिल्म ‘ओम शान्ति ओम’ को गीतको नक्कल गरेर तयार पारिएको गीतमा मदनकृष्ण श्रेष्ठदेखि दीपाश्री निरौलासम्मले ठुम्का लगाएका छन् । यो गीतका कारण फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको थियो । तर, गीत हिट हुनु र देश लकडाउन हुनु एकै समयमा पर्यो । गएको बैशाख १२ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गर्दै गीत रिलिज गरिएको थियो ।
सरकारले कोरोनाका कारण लकडाउनको घोषणा गरेपछि ‘हिजो आजका कुरा’ को प्रदर्शन अनिश्चितकालका लागि रोकिएको छ । डेढ करोडको लगानीमा बनेको यो फिल्म लकडाउन खुले लगत्तै प्रदर्शनमा आउने सम्भावना पनि कम छ । किनकि, कोरोनाको भयले लामो समयसम्म दर्शक हलमा फिल्म हेर्न आउने देखिन्न । यस्तो अवस्थामा फिल्म रिलिज गरेर को डुब्न चाहने र ?
‘माया जदौ’ गीतले फिल्मलाई जुन चर्चा दिलाएको छ, अब त्यो नयाँ प्रदर्शन मितिमा नहुन सक्छ । यसका लागि निर्माण टिमले प्रचारलाई आक्रामक बनाउन र फिल्मका एकसेएक उम्दा कन्टेन्ट बाहिर ल्याउन सक्नुपर्छ । गीतले फिल्मप्रति बढाएको अपेक्षा पूरा गर्न पनि निर्माण टिमलाई सहज छैन । गीतले झैँ फिल्मले पनि बक्सअफिस पिट्ला त ? यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ ।
साकार पन्तको निर्देशन रहेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मालगायतका कलाकारहरुको अभिनय छ । कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथा फिल्मले वाचन गरेको छ ।
गीत हेर्नुहोस् :-

