Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

हिरो हुने तयारीमा दुर्गेश थापा

फिल्मीखबर, काठमाण्डौ, 2020/07/05
नेपाली फिल्म क्षेत्रमा गायकबाट नायक बनेका धेरै उदाहरण छन् । यम बराल, उदित नारायण झा, मुरलीधर, रामकृष्ण ढकाल, धीरज राई, कोशिश क्षेत्री, राजेश पायल राई, यश कुमार बाबु बोगटी, लाउरे, सत्यराज आचार्य, निमा रुम्बालगायतले गायकसँगै आफूलाई अभिनेताको रुपमा पनि स्थापित गर्ने प्रयास गरेका थिए । तर, गायनमा सफल उनीहरुलाई फिल्म अभिनय फापेन ।
 
एकपछि अर्का नाम कहलिएका गायकहरुलाई सिल्भर स्क्रिनमा दर्शकले अस्वीकार गरिरहे पनि फिल्ममा नायकको रुपमा डेब्यू गर्ने गायकको संख्यामा भने खासै कमी आएको छैन । गीतसंगीतका कारण चर्चाको शिखरमा रहेका गायकको लोकप्रियताले फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वासले पनि निर्माता/निर्देशकहरु गायकलाई नायक बनाउन तम्सिने गरेको पाइन्छ ।
 
 
गायकबाट नायक बन्ने भीडमा प्रकाश सपूत र नितेशजंग कुवँर पनि थपिँदैछन् । ‘गलबन्दी’ गीतका गायक सपुतले फिल्म ‘परदेशी २’ बाट नायकको रुपमा डेब्यू गर्दैछन् । भने, युवापुस्ताका लोकप्रिय गायक नितेशलाई निर्देशक सुरेन्द्र पौडेलले फिल्म ‘बाबरी क्याफे’ मा लिड हिरोको रुपमा ब्रेक दिँदैछन् । यस्तै, चर्चित गायक दुर्गेश थापा पनि ढिलोचाँडो फिल्मको हिरो हुने तयारीमा छन् । 
 
हालै एक भिडियोको छायांकनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूलाई फिल्मको अफर आइरहेको बताएका छन् । तर, तत्काल फिल्म गर्ने सोचमा नभएको उनको भनाई छ । गायक तथा मोडल थापाले भनेका छन्, ‘फिल्म गर्ने इच्छा छ । तर, म महिनामा २२ दिन जति देश तथा विदेशमा हुने कार्यक्रमै व्यस्त हुन्छु । त्यही कारणले फिल्मका लागि समय दिन सकेको छैन ।’ 
 
उनले अगाडि थपे- ‘फिल्ममा जानु पर्‍यो भने भिडियोबाट एक वर्ष ग्याप लिन्छु । फिल्ममा केही फरक गरेर जाने इच्छा छ । भिडियो र फिल्ममा मबाट दर्शकले केही फरक पाएनन् भने मज्जा आउँदैन । त्यसैले एक वर्ष भिडियोबाट ग्याप लिएर र आफूलाई मेन्टेन गरेर फिल्म गर्छु ।’ फिल्मलाई लिएर यतिसम्म गम्भीर दुर्गेशले गायक नायकमा चलेका छैनन् भन्ने चाहिँ बुझेका छन् कि छैनन् होला ?
Most Visited News (monthly)