Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

२५ वर्षकी भइन् स्वस्तिमा

फिल्मीखबर, काठमाडौं, 2020/07/04
सन् २०१५ मा प्रदर्शनमा आएको रोमान्टिक फिल्म ‘होस्टल रिर्टन्स’ बाट सहायक अभिनेत्रीको रुपमा अभिनय करिअर सुरुवात गरेकी स्वस्तिमा खड्का शनिवार आफ्नो २५औं जन्मदिन मनाउँदैछिन् । २०५२ साल असार २० गते काठमाडौंमा जन्मिएकी उनलाई जन्मदिनको अवसरमा फिल्मकर्मी तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालको माध्यमबाट शुभकामना दिइरहेका छन् । 
 
शनिवार साँझको १२ बजे उनलाई श्रीमान् निश्चत बस्नेतले फेसबुकमार्फत् जन्मदिनको शुभकामना दिएका थिए । निश्चलसँग उनले सन् २०१६ मा लगनगाँठो कसेकी थिइन् । ‘होस्टल रिर्टन्स’ बाट अभिनय करिअर थालनी गरे पनि उनलाई फिल्म ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ गीतले लोकप्रियता दिलाएको थियो । त्यस्तै, फिल्म ‘छक्का पञ्जा २’ ले उनलाई अभिनेत्रीको रुपमा स्थापित गर्‍यो ।
 
 
फिल्म ‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा’ बोलको गीतमा समेत ठुम्का लगाएकी स्वस्तिमाले ५ वर्षे फिल्म करिअरमा आधा दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । ‘लभ लभ लभ’, ‘जय भोले’, ‘नाईं नभन्नू ल ५’, ‘घामड शेरे’, ‘हजार जूनीसम्म’ लगायतका फिल्ममा लिड अभिनेत्रीको रुपमा अभिनय कौशल प्रस्तुत गरेकी उनको करिअरको उम्दा फिल्मको रुपमा ‘बुलबुल’ लाई लिइन्छ ।
 
यसमा स्वस्तिमाले एक टेम्पो चालक (विवाहित महिला) को भूमिका निर्वाहा गरेकी थिइन् । यो फिल्मबाट उनले राष्ट्रिय अवार्डसहित विभिन्न अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी थिइन् । यसअघि उनलाई कुनै फिल्मले अवार्ड दिलाउन सकेका थिएनन् । फिल्म ‘बुलबुल’ बाट आफूलाई उम्दा अभिनय गर्ने अभिनेत्रीको रुपमा उभ्याएकी उनको पछिल्लो रिलिज फिल्म ‘घामड शेरे’ हो ।
 
विवाहपछि अभिनेत्रीहरु कामविहीन हुन्छन् भन्ने गरिन्छ । स्वस्तिमाको हकमा भने ठीक उल्टो भयो । निर्देशक बस्नेतसँग विवाह गरेपछि उनको करिअरले गति लिएको थियो । ‘क्लास र मास’ दुवै प्रकारका फिल्म गर्न रुचाउने उनी विवादबाट पनि सकेसम्म टाढै रहने गर्छिन् । यद्यपि, गत वर्ष कलाकारको पारिश्रमिकको विषयमा दिएको अभिव्यक्तिले उनी विवादित बनेकी थिइन् ।
 
छोटो समयमा लोभलाग्दो ‘नेम र फ्रेम’ कमाएकी स्वस्तिमा फिल्ममा मात्रै सीमित छैनन् । म्यूजिक भिडियो र विज्ञापनहरुमा पनि उनको राम्रो माग छ । एक फिल्मका लागि ५/७ लाखसम्म पारिश्रमिक बुझ्ने गरेकी उनी चाँडै एक अमेरिकन टोलीले निर्माण गर्न लागेको अंग्रेजी फिल्ममा अभिनय गर्दैछिन् । त्यस्तै, उनी अभिनीत नयाँ फिल्म ‘चपली हाइट ३’ प्रदर्शनको तयारीमा छ ।
 
नेपाली फिल्मकी सुन्दरी अभिनेत्री स्वस्तिमा खड्कालाई जन्मदिनको शुभकामना ।
Most Visited News (monthly)