अहिलेकी हटकेक अभिनेत्री साम्राज्ञी आरएल शाहले ५ वर्षको अवधिमा काम गरेका ८ फिल्मध्ये तीन फिल्मको सुटिङमा निर्देशक र निर्माताबाट आफूले घिनलाग्दो व्यवहार सहनु परेको खुलासा गरेपछि अहिले फिल्म क्षेत्रमा यही विषयमा चर्चा भैरहेको छ । आफूमाथि भएको दुर्व्यवहारको विरुद्ध आवाज उठाउने हिम्मत गरेकोमा धेरै फिल्मकर्मीहरुले साम्राज्ञीको प्रशंसा गरेका छन् ।

फिल्म ‘कोहलपुर एक्सप्रेस’ का निर्देशक विशाल भण्डारीले भने फिल्म क्षेत्रमा महिलाबाट पुरुष पनि प्रताडित भएको बताएका छन् । विभिन्न तरिकाले मानसिक तनाव झेल्न बाध्य बनाउने महिलाको बारे मौन बसेका पुरुष पनि अगाडि आउन आवश्यक रहेको र विभिन्न समयमा विभिन्न तरिकाले पुरुषलाई प्रयोग गर्न पल्केका महिला जमातको पनि कमी नभएको उनको भनाई छ ।
उनले फेसबुकमा लेखेका छन्, ‘यहाँ कुरा महिलालाई गरिने दुर्व्यबहारको मात्र हैन, दरिद्र सोचको पनि हो । कामको लोभमा गरिने आचरण र त्यसको नतिजाको पनि चर्चा हुन जरुरी छ । हरेक घटनाको तीन पाटो हुन्छ । पहिलो पक्ष, दोश्रो पक्ष अनि सत्य । सत्य कहिले बाहिर आउँदैन ।’ घटनाको यथार्थ र गहिराइ नबुझि धारणा व्यक्त गर्दा निर्दोषलाई मानसिक पीडा हुने उनको कथन छ ।
‘वर्तमान समाजले पुरुषले महिलालाई थप्पड हान्दा कस्तो फटाह रैछ केटो र महिलाले पुरुषलाई थप्पड हान्दा पनि पक्कै केटाकै गल्ती हो भन्ने एक पक्षिय धारणा बोकेको छ । यो धारणा परिवर्तन हुन जरुरी छ । सुन्दरतालाई हतियार बनाउन पल्केका महिलाले पुरुषलाई ब्ल्याकमेल गर्न सक्ने गरि सामाजिक बहस हुनु हुँदैन ? सर्वपक्षिय बहसको आवश्यकता छ,’ उनले लेखेका छन् ।

महिलाले महिला भएको फाइदा उठाउँदै पुरुषको सामाजिक प्रतिष्ठा धमिल्याउन र पुरुषले महिलामाथि विभिन्न दुर्व्यवहार गर्न नसकोस् भन्ने विषयमा बहस छेड्न उनको आग्रह छ । निर्देशक भण्डारी थप्छन्, ‘पुरुष पनि प्रताडित छन् यहाँ । तर, महिला ठुलो संख्यामा पीडित छन्, यसमा दुई मत छैन ।’ उनी गलत प्रवृतिको विरुद्धमा आवाज उठाउन पनि सबैलाई आग्रह गर्छन् ।

