कोरोना भाइरसले नेपालका हरेक क्षेत्र अस्तव्यस्त भएको छ । यसबाट फिल्म क्षेत्र पनि अछुतो छैन । लकडाउनपछि सयौं सिनेमा हलमा ताला लागे । फ्लोरमा रहेका फिल्म रोकिए । प्रदर्शनको तयारीमा रहेका फिल्म कम्प्यूटरको हार्ड डिस्कमै थन्किए । फिल्म क्षेत्र पहिलेको जस्तो अवस्थामा कहिले फर्किन्छ, कुनै टुंगो छैन । यही अवस्था रहे फिल्म क्षेत्र थप धरासायी हुने निश्चित छ ।
फिल्म सम्बन्धित सम्पूर्ण कार्य ठप्प हुँदा हजारौं प्राविधिकको रोजीरोटी गुमेको छ । वर्षमा विरलै फुर्सदसँग घरमा बस्न पाउने कलाकारहरु तीन महिनादेखि घरभित्रै सीमित हुँदा दिकदार भएका छन् । लकडाउन खुकुलो भएपछि म्यूजिक भिडियोमा काम गर्ने कलाकारको दैनिकी केही सहज भए पनि फिल्ममै सीमित कलाकारहरु लकडाउन खुल्ने प्रतिक्षामा दिन काटिरहेका छन् ।
सरकारले लकडाउन घोषणा गरेपछि अभिनेता पल शाह तीन महिना घरभन्दा बाहिर निस्किएनन् । लकडाउन खुकुलो भएपछि भने उनी म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् । दुई हप्ताअघि उनले ‘ए है माया’ बोलको गीतमा अभिनय गरे । यो गीत एक हप्तादेखि यूट्युब ट्रेन्डिङ छ । मंगलवार उनले अभिनेत्री स्वस्तिमा खड्कासँग अर्को नयाँ गीतको छायांकन भ्याएका छन् ।
.jpg)
तीन महिनापछि एक्सन-कटमा फर्किन पाउँदा स्वस्तिमा खुसी देखिएकी थिइन् । तर, धेरै दिनको विश्रामले उनलाई ढाड दुखेर नाच्न समस्या भइरहेको थियो । पललाई पनि ‘ए है माया’ गीतको रिहर्सल गर्दा यस्तै समस्या भएको रहेछ । गीतको सुटिङ सेटमा स्वस्तिमाले ढाड दुखेको भनिरहँदा पलले त्यही दिन सम्झिए । तर, स्वस्तिमाले ढाड दुख्दा पनि राम्रो काम गरेको उनले बताए ।
पल र स्वस्तिमाले तीन वर्षपछि म्यूजिक भिडियोमा स्क्रिन साझेदारी गरेका हुन् । तीन वर्षपछि काम गर्दा एकअर्कामा कुनै परिवर्तन नदेखेको उनीहरुको भनाई छ । म्यूजिक भिडियोमा सँगै काम गरे पनि फिल्ममा भने यो जोडीले रोमान्स गर्न पाएका छैनन् । यी दुईलाई सिल्भर स्क्रिनमा हेर्न दर्शकहरु प्रतिक्षारत छन् । के उनीहरु पनि फिल्ममा सँगै काम गर्न इच्छुक छन् त ?
स्वस्तिमा भन्छन्, ‘म फिल्म क्षेत्रमा आउँदा पललाई म्यूजिक भिडियोको ‘किंग’ भनिथ्यो । मेरो पहिलो फिल्म प्रदर्शन नहुनुभन्दा अगाडि पलसँग एक भिडियोमा काम गरेको थिएँ । पहिलो भेटमा नै उसले ४ घण्टा कुराएको कहिल्यै विर्सन्नँ । मेरो करिअरको सुरुवात नै पलसँग भएकाले ऊसँग फिल्ममा पनि काम गर्ने इच्छा छ । राम्रो स्क्रिप्टबाट अफर आए अवश्य काम गर्नेछौं ।’
पलले पनि स्वस्तिमाको कुरामा सहमति जनाए । आफूसँगै काम गरेका को-एक्टरको प्रगति देख्दा खुसी लाग्ने बताउँदै उनले भने- ‘स्वस्तिमासँग फिल्ममा काम गर्न मलाई पनि इच्छा छ । म्यूजिक भिडियोमा तीन वर्षपछि काम गर्ने मौका जुर्यो । चाँडै फिल्ममा पनि काम गर्न पाइन्छ भन्नेमा म विश्वस्त छु ।’ उनले फिल्म क्षेत्र चाँडै पहिलेको जस्तै अवस्थामा फर्किने पनि विश्वास व्यक्त गरे ।

