अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा नेपोटिज्मको विषयमा बहस चर्किएको छ । यसबाट नेपाली फिल्म क्षेत्र पनि अछुतो बन्न सकेन । अभिनेत्री नम्रता सापकोटाले एक भिडियोमार्फत् नेपाली फिल्म क्षेत्रमा मौलाएको नेपोटिज्मले प्रतिभावान कलाकारहरु डिप्रेसनको शिकार भएको बताएपछि यस विषयमा विभिन्न फिल्मकर्मीहरुले आफ्नो धारणा राखिरहेका छन् ।

अभिनेता यशराज गराचले भने नम्रताको भनाईलाई समर्थन गरेका छन् । फिल्म क्षेत्रमा नेपोटिज्मसँगै ग्रुपिज्मको पनि समस्या रहेको उनको भनाई छ । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले पेशा अपनाउन सबैभन्दा सजिलो फिल्म क्षेत्र रहेको बताउँदै २० सेकेण्डको अभिनय गरेर फलोअर्स बढाएपछि कलाकार हुन पाइने प्रवृतिप्रति पनि असन्तुष्टि व्यक्त गरे ।
उनले लेखेका छन्, ‘फिल्म क्षेत्रमा आउन न पढाई चाहियो न सर्टिफिकेट । आफ्नो घर छेउमा कसैले कुनै इभेन्ट गर्छ, भाग लिनु । अझ जो सुकैसँगै एउटा फोटोसुट मात्र गर्नुस्, तपाईं मोडल । कुनै पनि एपमा गएर २० सेकेण्डको अभिनय गर्नुस् र फ्यान फलोअर्स बढाउनुस्, तपाईं एक्टर । तपाईले काम पाउन सुरु अनि २/३ वटा काम पाएर फेरि केही समय नपाउँदा डिप्रेसन सुरु ।’
कुनै पनि पेशा अपनाउन ७/८ वर्ष अध्ययन गर्नुपर्ने र कलाकारिता पेशा अपनाउने संकल्प लिएपछि ५/६ वर्ष संघर्ष गर्नुपर्ने उनको सुझाव छ । कुनै पनि क्षेत्रमा जानुभन्दा अगाडि त्यसको राम्रो न नराम्रो पक्षको बारेमा बुझ्न जरुरी रहेको पनि उनले बताएका छन् । अभिनेता गराच थप्छन्, ‘म हिरो-हिरोइन (मेन लिड एक्टर) नै बन्नु पर्छ भन्ने कुरा छाडेर आफूलाई राम्ररी मुल्यांकन गर्नुहोस् ।’
फिल्म ‘स्वर’ बाट डेब्यू गर्दैगर्दा आफूमा पनि भयंकर अभिनय गर्नसक्छु भन्ने भ्रम रहेको उनको स्वीकारोक्ति छ । ‘मैले जम्मा ७/८ वर्ष र्याम्प मोडलिङ गरेको थिएँ । १२/१५ वटा शो कोरियोग्राफी गरेको थिए । ५ वर्ष टिभीमा प्रस्तोता भएँ । १०/१५ वटा स्टेज शो होस्ट गरेँ । २ भन्दा बढी म्यूजिक भिडियोमा खेलेको थिएँ र म भयंकर अभिनय गर्न सक्छु भन्ने भ्रम थियो,’ उनले लेखेका छन् ।
‘स्वर’ मा काम गरेपछि आफूमा रहेको भ्रम टुटेको उनको भनाई छ । जीवनभर सिकेर पनि अभिनय नसिकिने अनुभव सुनाउँदै उनले आफू अझै सिकिरहेको र जीवनभर सिकिरहने बताएका छन् । फिल्म क्षेत्रमा नेपोटिज्म र ग्रुपिज्म रहेको तर्क पेश गर्दै उनले थपेका छन्, ‘हामीलाई कसले काम दिने भनेर सोच्नुभन्दा आफूलाई तयार पार्नुस्, सबै कुरा मज्जाले बुझ्नुस् र आउनुस् यो क्षेत्रमा ।’

