 (4).jpg)
दुई वर्ष अगाडि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को सक्सेस पार्टीमा घोषणा गरिएको फिल्म हो, ‘आइ एम ट्वान्टी वान’ । तर, यो फिल्मको अहिलेसम्म छायांकन सुरु हुन सकेको छैन । फिल्मका लागि लिड अभिनेतामा धिरज मगर र अभिनेत्रीमा जसिता गुरुङ अनुबन्ध भएकै एक वर्षभन्दा बढी भइसकेको छ । फिल्मका लागि उनीहरु गएको ६ महिनादेखि वर्कसप पनि गरिरहेका छन् ।
अब भने फिल्मको छायांकन सुरु हुने भएको छ । फिल्मको प्रि-प्रोडक्सनका सम्पूर्ण काम सकिएकाले लकडाउन खुलेपछि छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । फिल्मलाई सन् २०२१ मा प्रदर्शन गरिने निर्देशक रेनशा वान्तवा राईले जानकारी दिएकी छन् । उनले इन्स्टाग्राममार्फत् फिल्मका लागि धिरज र जसिता लगभग तयार भएको उल्लेख गरेकी छन् ।
निर्देशक रेनशा वान्तवा राईको एक्सन-कट रहने फिल्मलाई प्रज्वल सम्सेर जबराले निर्माण गर्दैछन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ । गत वर्ष फिल्ममा जसितासँगै अभिनेत्री स्वस्तिमा खड्काले पनि अभिनय गर्न लागेको चर्चा चलेको थियो । तर, निर्देशक राईले यो कुरा नकारेकी थिइनन् । फिल्ममा धिरजले दुई अभिनेत्रीसँग रोमान्स गर्नेछन् ।
‘आइ एम ट्वान्टी वान’ नृत्यको कथामा आधारित भएर निर्माण हुनेछ । यसका लागि धिरज र जसिताले नृत्यको तालिम लिइरहेका छन् । पूर्व प्रेम जोडी भनिएका उनीहरुलाई पर्दामा हेर्न दर्शकहरु निकै आतुर छन् । यो फिल्म उनीहरुको करिअरका लागि पनि विशेष मानिएको छ । अभिनेता प्रदीप खड्कासँग निकै रुचाइएको जसिताको जोडी धिरजसँग कति जम्ला ? धेरैलाई चासो छ ।

