Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

साम्राज्ञी भन्छिन्, ‘भुवन केसीको घिनलाग्दो व्यवहार’

फिल्मीखबर, काठमाण्डौ, 2020/06/29
अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि नेपाली फिल्म क्षेत्रमा करीब एक साता नेपोटिज्म र ग्रुपिज्मको बहसले स्थान पायो । यसपछि अभिनेता पल शाहले पारिश्रमिकको मुद्धा उठाए । उनले फिल्ममा काम गरेको पारिश्रमिक निर्माताले विभिन्न बहाना बनाएर वर्षौंसम्म झुलाउने गरेको गुनासो पोखेपछि यो विषयमा अन्य कलाकारहरुले पनि आफ्नो भनाई राखिरहेका छन् । 
 
 
यसबीच, शुक्रवार अभिनेत्री साम्राज्ञी आरएल शाहले फिल्मको सुटिङ सेटमा कलाकारमाथि निर्माता/निर्देशकले गर्ने नराम्रा व्यवहारको बारेमा आफ्ना भोगाईहरु सार्वजनिक गरिन् । उनले एक भिडियोमार्फत् आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रा अनुभव भोगेको बताएकी थिइन् । सुटिङमा खाना र पानी माग्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको उनको भनाई थियो । 
 
साम्राज्ञीले आफूमाथि कसले नराम्रो व्यवहार गरेको थियो भनेर नाम किटान गरेकी छैनन् । तर, उनको कटाक्ष निर्माता तथा अभिनेता भुवन केसीमाथि पनि केन्द्रित थियो । उनले कयैन् पटक विभिन्न अन्तर्वार्तामा फिल्म ‘ड्रिम्स’ को सुटिङ सेटमा आफूमाथि नराम्रो व्यवहार भएको खुलेर बोलेकी छन् । तर, उनका अभिव्यक्तिलाई लिएर भुवन केसीले कहिल्यै मुख खोलेका थिएनन् । 
 
आइतवार साँझ भने उनले फेसबुकमा आक्रोशपूर्ण स्टाटस लेखे । साम्राज्ञीलाई कटाक्ष गर्दै उनले ‘ड्रिम्स’ को नाम बेचेर अहिलेसम्म खाइरहेको आरोप लगाउँदै ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आक्रोश पोखेका छन् । अभिनेता केसीले सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा गरेर देखाउन पनि आग्रह गरेका छन् । यसको जवाफ साम्राज्ञीले पनि फर्काएकी छन् । 
 
भुवन केसीले फेसबुकमा स्टाटस लेखेको एक घण्टापछि इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै साम्राज्ञीले भनेकी छन्, ‘एक जनाले के भन्नुभएको छ भने जुन थालमा खायो त्यही थालमा दुलो पार्‍यो । उहाँले मसँग राम्रो व्यवहार गर्नुभएको थियो भने यो अवस्था आउने नै थिएन । आज यो अवस्था आएकै उहाँले गर्दा हो ।’ उनले भिडियोमा भुवन केसीको नाम उच्चारण भने गरेकी छैनन् । 
 
 
उनले जापान अवार्डमा भुवन केसीले आफूमाथि नराम्रो व्यवहार गरेको आरोप पनि लगाएकी छन् । अवार्डमा अभिनेता केसीले भनेको कुरा सम्झँदै उनले थपेकी छन्, ‘तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस् यस्तो कुरा नगर भनेर मलाई सम्झाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन लागिरहेको थियो । तै पनि हाँसेर बोलेँ ।’ 
 
ती कुराहरु भनिरहँदा भुवन केसीले आफूमाथि ह्यारेस्मेन्ट गरेको आशय व्यक्त गर्दै साम्राज्ञीले थपेकी छन्, ‘ती कुराहरु अलि टाढाबाट पनि भन्न सकिन्छ नी । गाला जोड्याएर, टाँस्सिएरै भन्नु पर्छ र ? छोरी अब यस्तो नगर है भन्दै गालामा मुख जोड्याएरै भनिराख्नुभएको थियो । तै पनि म सुनिरहेँ । उहाँलाई ‘अंकल’ भन्दा मन पर्दैन । त्यसैले मैले उहाँलाई ‘हुन्छ दाई’ भन्दै धकलेँ ।’
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on

आफूमाथि नराम्रो व्यवहार गर्ने भुवन केसी पहिलो व्यक्ति नभएको पनि साम्राज्ञीको भनाई छ । एकाधबाहेक नेपालका ठूला ब्यानर भनिनेहरुले नयाँ कलाकारहरुको फाइदा उठाउने र प्रयोग गर्ने गरेको उनको आरोप छ । आफूमाथि भएको व्यवहार गलत भएको थाहा हुँदाहुँदै पनि फिल्म करिअरलाई असर पर्ने कारणले धेरैले यी कुरा बाहिर नल्याउन सुझाव दिएको उनी सम्झन्छिन् । 
Most Visited News (monthly)