Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(40 votes, avg 5.00/5.00)
Text size:-
+
-

सन्तोष क्याम्पमा फेरि प्रदीप

फिल्मीखबर, काठमाडौं, 2020/06/28
निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काको मित्रतालाई नेपाली फिल्म क्षेत्रमा उदाहरणको रुपमा लिने गरिन्छ । यहाँ एउटा फिल्ममा काम गरेपछि प्रायः निर्माता र कलाकारबीच मनमुटाव सुरु हुन्छ । तर, फिल्म ‘प्रेमगीत’ बाट गाँसिएको सन्तोष र प्रदीपको व्यावसायिक सम्बन्धमा आजसम्म कुनै समस्या आएको छैन । उनीहरुको सम्बन्ध एकअर्काप्रतिको विश्वासमा टिकेको छ । 
 
यी दुईलाई एकअर्कासँगको सहकार्य फापेको पनि छ । फिल्म ‘प्रेमगीत’ बक्सअफिसमा असफल भए पनि दर्शकले निकै रुचाए । यही फिल्मले प्रदीप र सन्तोषलाई नेपाली फिल्म क्षेत्रमा स्थापित गरेको थियो । यो फिल्मपछि उनीहरुबीच ‘प्रेमगीत’ को दोस्रो सिरिजमा टिमअप भयो । यो फिल्मबाट सन्तोषले घाटा बेहोर्नु परेन । प्रदीपको फिल्म करिअरले पनि थप उचाई लियो । 
 
 
सन्तोष र प्रदीपबीच तेस्रो पटक फिल्म ‘प्रेमगीत ३’ मा सहकार्य भयो । यो फिल्म गत वर्षको चैत २८ मा रिलिज हुने तयारीमा थियो, तर कोरोना भाइरसबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि फिल्म प्रदर्शन हुन सकेन । अब, आउँदो बैशाखमा फिल्म रिलिज हुने बताइएको छ । ठूलो बजेटमा निर्माण भएको यो फिल्मको दर्शकहरु लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । 
 
यसबीच, निर्माता सन्तोष सेनको क्याम्पमा पुनः एकपटक प्रदीप दोहोरिने भएका छन् । ‘प्रेमगीत ३’ प्रदर्शनपछि छायांकन सुरु गर्ने गरि निर्माता सेन नयाँ फिल्मको तयारीमा जुटेका छन्, जसमा लिड हिरोको रुपमा प्रदीप खड्का फाइनल भएका छन् । फिल्मको कथा ‘प्रेमगीत २’ फेम्ड निर्देशक रामशरण पाठकले लेखिरहेका छन् । निर्देशकको भने कुनै टुंगो नलागेको सन्तोषले बताए । 
 
उनी अहिले नयाँ फिल्मका लागि लोकेशन खोज्न आफ्नो हिरोलाई लिएर सुर्खेत पुगेका छन् । कमेडी जनरामा बन्ने फिल्म गाउँले परिवेशमा खिचिने भएकाले सुर्खेत पुगेको उनले बताए । फिल्ममा प्रदीपको अपोजिटमा नयाँ अनुहारलाई लञ्च गर्ने उनको सोच छ । निर्माता सन्तोष सेनले आफ्नो हरेक फिल्ममा प्रदीपलाई च्यापेर ग्रुपिज्म गरिरहेको बहस पनि फिल्म क्षेत्रमा हुने गरेको छ ।
Most Visited News (monthly)