अभिनेता अनमोल केसी स्टारर फिल्म ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी आइतवार आफ्नो जन्मदिन मनाउँदैछिन् । उनलाई फिल्मकर्मी तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् । भारतको मुम्बईमा बसेर बलिउड प्रवेशका लागि संघर्षरत उनी लकडाउन हुनुभन्दा दुई हप्ताअघि नेपाल आएकी थिइन् ।
फिल्म ‘कृ’ पछि उनी करीब २ वर्ष काँचको पर्दाबाट टाढा रहिन् । यो बीचमा केही फिल्मबाट अफर भए पनि उनले अस्वीकार गरिन् । अब भने उनी दोस्रो फिल्मको तयारीमा छिन् । उनी नेपाल आउनुको कारण पनि यही थियो । उनले ‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेलको नयाँ फिल्ममा काम गर्ने निश्चित भैसकेको छ । फिल्मको नाम ‘बाबरी क्याफे’ राखिएको जानकारी प्राप्त छ ।

यो फिल्ममा अदितीले युवापुस्ताका लोकप्रिय गायक नितेशजंग कुँवरसँग अनस्क्रिन रोमान्स गर्दैछिन् । नितेशले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् । फिल्मको वर्कसपका लागि अदिती भारतबाट नेपाल आएकी थिइन् । उनले केही दिन नितेशसँग वर्कसप पनि गरिन् । तर, फिल्मको घोषणा हुने समयमा देश लकडाउन भयो । यसपछि उनी घरभित्रै सीमित भएकी छन् ।
इन्स्टाग्राम र फेसबुकमा लाखौं फलोअर्स कमाएकी अदितीलाई फिल्म ‘कृ’ पछि पर्दामा नदेखेका कारण दर्शकहरु उनको नयाँ फिल्मको व्यग्र पखाईमा छन् । लकडाउनका कारण यो पखाई अझ लम्बिने देखिएको छ । स्थिति सामान्य भएपछि मात्र फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्देशक पौडेल छन् । यसरी हेर्दा अर्को वर्ष मात्र दर्शकले अदितीलाई पर्दामा हेर्न पाउने देखिन्छ ।
‘कृ’ रिलिजपछि करीब २ वर्ष अभिनयबाट टाढा भए पनि उनी विभिन्न कारणले मिडियामा भने छाइरहेकी थिइन् । उनले इन्स्टाग्राममा पोस्ट्याउने ‘हट एण्ड बोल्ड’ तस्विरले सामाजिक सञ्जाल र मिडिया खुबै तात्ने गरेका थिए/छन् । गत वर्ष उनले आफू भारतीय र्यापर अलिम मोरानीको प्रेममा रहेको पनि खुलासा गरेकी थिइन् । यसले पनि उनी केही दिन चर्चाको केन्द्रमा रहिन् ।
नेपाली फिल्मकी सुन्दरी अभिनेत्री अदिती बुढाथोकीलाई जन्मदिनको हार्दिक शुभकामना ।

