विश्वभर भयावह रुप लिएको कोरोना भाइरसका कारण विश्व फिल्म बजार प्रभावित भएको छ । संक्रमणको उच्च जोखिममा पर्ने क्षेत्र भएकाले महिनौंदेखि विश्वभर सञ्चालनमा रहेका लाखौं सिनेमा हलहरुमा ताला लागेका छन् । फिल्म निर्माण र प्रदर्शन पनि ठप्प छ । जसले गर्दा विश्व फिल्म उद्योगले अर्बौंको घाटा बेहोरिसकेको छ । यो अवस्था अझै कहिलेसम्म रहन्छ, कुनै टुंगो छैन ।
(3).jpg)
नेपाली फिल्म क्षेत्रमा पनि गएको तीन महिनादेखि कुनै प्रकारका गतिविधि भएका छैनन् । लकडाउन लुजडाउनमा परिणत भए पनि सिनेमा हलहरु अझै बन्द छन् । फिल्म छायांकनका लागि सरकारले अनुमति पनि दिएको छैन । लकडाउन पूर्ण रुपमा नखुलेसम्म मनोरञ्जन क्षेत्र ठप्पै रहने देखिन्छ । यसपछि पनि फिल्म क्षेत्र चलायमान हुन समय लाग्नेछ, झण्डै एक वर्ष ।
कोरोनाबाट बच्न लागू गरिएको लकडाउनपछि घरभित्रै सीमित भएका कलाकारहरु अब काममा फर्किने इच्छा व्यक्त गरिरहेका छन् । लकडाउनअघि फिल्मको छायांकनका कारण विरलै फुर्सदसँग बस्न पाएका उनीहरु तीन महिनादेखि घरको चारकुनामा नजरबन्द हुँदा दिकदार भएका छन् । तर, स्थिति सामान्य नहुँदासम्म घरभित्रै दैनिकी विताउनुको उनीहरुसँग अरु विकल्प छैन ।
अभिनेता आर्यन सिग्देल चाँडै फिल्म दुनियाँ पुनः सुचारु हुने आशमा छन् । लकडाउन भएपछि केही हप्ता आफ्नो जन्मथलो थानकोटमा बसेर राजधानी फर्किएका उनले शनिवार इन्स्टाग्राममा लेखेका छन्, ‘अब चाँडै सुरु हुनेछ फिल्म दुनियाँ ।’ उनको यो कुराबाट बुझ्न सकिन्छ कि आर्यन अब काममा फर्किन चाहन्छन् । त्यसका लागि उनी फिल्म दुनियाँ पुनः सुचारुको प्रतिक्षामा छन् ।
एक समय नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका आर्यन पछिल्लो पटक फिल्म ‘चच हुईं’ मा देखिएका थिए । तर, यो फिल्मले उनको लगातार फ्लप फिल्मको श्रृंखलामा पूर्णविराम लगाउन सकेन । लकडाउनपछि उनी कुन फिल्मको काममा व्यस्त हुनेछन्, त्यसको जानकारी प्राप्त भएको छैन । बजारमा भने उनले तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक गर्ने चर्चा छ ।

