
नेपाली फिल्मका लागि एउटा ब्रान्ड नाम हो, रेखा थापा । अभिनेत्रीको नामले पनि दर्शकलाई हलसम्म डोहोर्याउन सक्छ भन्ने उदाहरणकी पात्र हुन्, उनी । यसकारण पनि आफ्नो फिल्मी करिअरमा उनको अभिनेत्रीसँग नभइ अभिनेतासँग प्रतिस्पर्धाको चर्चा हुने गर्दथ्यो । राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायतका अभिनेतासँग उनको एकसमय राम्रै वाकयुद्ध थियो ।
कुनै समय सँगै काम गरेका केही अभिनेतासँग रेखाको अझै पनि पानी बाराबारको सम्बन्ध छ । यद्यपि, अहिले उनी आफ्ना विग्रिएका सम्बन्धहरु सुधारको बाटोमा छिन् । अभिनेता आर्यन सिग्देलसँग उनको लामो समय बोलचाल बन्द भएको थियो । दुई वर्षअघि फिल्म ‘रुद्रप्रिया’ का लागि दुईबीच मिलन भयो । अभिनेता निखिल उप्रेतीसँग पनि उनले सम्बन्ध सुधारिसकेकी छन् ।
अभिनेत्री रेखा थापाको एक अभिनेतासँग भने कहिल्यै मनमुटावको खबर बाहिरिएन । ती अभिनेता हुन्, जीवन लुईंटेल । एक समय लभस्टोरी फिल्ममा सर्वाधिक माग भएका उनी पछिल्लो समय अमेरिकमा बस्दै आएका छन् । उनीसँग रेखाले ‘जब जब माया बस्छ’, ‘कसम हजुरको’, ‘मालतीको भट्टी’, ‘नशिव आफ्नो’, ‘अन्दाज’ लगायतका फिल्ममा सँगै काम गरेकी छिन् ।
पर्दामा दर्शकले निकै रुचाएको रेखा र जीवनको जोडीलाई एकसाथ फिल्ममा लिन एक समय निर्माता/निर्देशकबीच हानाथाप हुन्थ्यो । तर, लामो समयदेखि उनीहरुलाई दर्शकले एकसाथ पर्दामा हेर्न पाएका छैनन् । जीवन अमेरिका हानिएपछि अभिनयबाट टाढा भएका छन् । रेखा भने फिल्म अभिनयमा सक्रिय नै छिन् । यो जोडीलाई पुनः पर्दामा हेर्न दर्शक प्रतिक्षारत छन् ।
यसबीच, जीवन लुईंटेलले फिल्म ‘अन्दाज’ को ‘ऐना बनाए तिमीलाई’ बोलको गीतको छायांकनका केही झलकहरु आफ्नो यूट्युब च्यानलमा अपलोड गरेका छन् । यो भिडियो अभिनेत्री रेखा थापाले आफ्नो आधिकारिक फेसबुकमा साझेदार गर्दै जीवनलाई सम्झिरहेको उल्लेख गरेकी छन् । उनले शुक्रवार इन्स्टामा पनि जीवनसँगको एक तस्विर राख्दै उनलाई सम्झिएकी छन् ।

