(1).jpg)
अभिनेत्री रीमा विश्वकर्मालाई फिल्म अभिनयभन्दा उद्घोषण पेशा बढी फापेको छ । ‘नेपाल आइडल’ को दुई सिजन सञ्चालन गरेपछि उनी दुरदराजसम्म परिचित भइन् । आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेर पनि उनले यो लोकप्रियता हासिल गर्न सकेकी थिइनन् । यसकारण पनि धेरैले उनलाई फिल्म अभिनयभन्दा उद्घोषणलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।
‘नेपाल आइडल’ को दोस्रो सिजनपछि उनले ‘कमेडी च्याम्पियन’ मा उद्घोषिकाको जिम्मेवारी सम्हालिन् । यो उनकै टिम (केकी अधिकारी र विशाल भण्डारी) ले निर्माण गरेको कमेडी रियालिटी शो हो । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो भएका कारण ‘कमेडी च्याम्पियन’ ले छोटो समयमै लोकप्रियता कमायो । र, रीमाको उद्घोषण गर्ने शैलीको पनि प्रशंसा भयो ।
उद्घोषणमा व्यस्त भए पनि रीमाले फिल्ममा काम गर्न छाडेकी छैनन् । लकडाउनपछि घरभित्रै सीमित भएकी उनको नयाँ फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनको पखाईमा छ । यस वर्षको बैशाखमा फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, कोरोनाका कारण फिल्मको प्रदर्शन अनिश्चितकालका लागि स्थगित भयो । सम्भवतः अब यो फिल्म अर्को वर्ष प्रदर्शन हुनेछ ।
.jpg)
रीमाले ५ वर्ष अगाडि रोबर्ट विश्वकर्मासँग विवाह गरेकी थिइन् । तर, उनीहरुको बैबाहिक जीवन २ वर्ष पनि टिकेन । अहिले एकल जीवन विताउँदै आएकी रीमा दोस्रो विवाहको बारेमा के सोच्छिन् ? इन्स्टाग्राममा एक फ्यानले ‘विवाह कहिले गर्ने ?’ भनेर सोधेको प्रश्नमा उनले लेखेकी छन्, ‘नगर्दा हुँदैन ?’ रीमाको यो कुराबाट बुझ्न सकिन्छ कि उनी तत्काल विवाह गर्ने सोचमा छैनन् ।

