कोरोना भाइरस (कोभिड १९) का कारण गएको तीन महिनादेखि फिल्म निर्माण, प्रदर्शनदेखि सिनेमा हलसम्म सम्पूर्ण बन्द छन् । भीडभाड हुने क्षेत्र भएकाले सरकारले लकडाउनभन्दा अगाडि नै सिनेमा हल बन्द गर्न निर्देशन दिएको थियो । हल बन्द भएपछि प्रदर्शन मिति घोषणा गरिएका आधा दर्जन बढी फिल्मको प्रदर्शन रोकियो । लकडाउनपछि छायांकनरत फिल्म पनि रोकिए ।
विकल्पहीन शैलीमा गरिएको लकडाउनले जनता रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि तीन चरणमा लकडाउन खोल्ने योजनासहित सरकारले गएको दुई हप्ता अघिदेखि लुजडाउनको नीति अपनाएको छ । लकडाउन, लुजडाउनमा परिणत भएपछि विभिन्न २१ वटा क्षेत्र पुनः सञ्चालनमा आएका छन् । तर, मनोरञ्जन क्षेत्र तेस्रो चरणमा मात्र खोल्ने सरकारको तयारी छ ।

तीन महिनादेखि फिल्म क्षेत्रमा कुनै गतिविधि नहुँदा हजारौंको संख्यामा बेरोजगारी बढेको छ । फिल्म प्राविधिकहरुलाई विहान बेलुकाको छाक टार्न समेत समस्या भएको छ । यो अवस्थामा कोरोनासँग जुधेरै भएपनि फिल्मसँग सम्बन्धित गतिविधि पुनः सुचारु गर्नुपर्ने आवाज फिल्मकर्मीबाट उठ्न थालेको छ । सरकारले फिल्म छायांकनका लागि अनुमति दिनुपर्ने उनीहरुको माग छ ।
चलचित्र पत्रकार संघ, कास्की शाखाले सामाजिक र भौतिक दूरी कायम गरेर शनिवार पोखरामा आयोजना गरेको ‘लकडाउन पछिको नेपाली चलचित्र : चुनौति, यथार्थ र सम्भावना’ विषयक बहस कार्यक्रममा कलाकार तथा निर्देशक अनुप बराल, कलाकार माओत्से गुरुङ र हल सञ्चालक निकेश द्वाले अब फिल्म निर्माणको अनुमति दिएर हल सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।
सञ्चारकर्मी अपिल त्रिपाठीले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रममा कलाकार अनुप बरालले कोरोनाका कारण तीन महिनादेखि ठप्प रहेको फिल्म क्षेत्र पुनः सञ्चालनमा ल्याउन ढिला गर्न नहुने बताए । कोरोनासँग लडेरै भए पनि फिल्म निर्माण र हल सञ्चालन गर्नुपर्ने समय आएको उनको भनाई छ । फिल्म प्रदर्शनका लागि मापदण्ड बनाएर हल खोल्न उनको सुझाव छ ।
उनले भने- ‘फिल्म क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन कोरोनाका कारण उत्पन्न डर हटाउन आवश्यक छ । जबसम्म डर रहन्छ तबसम्म फिल्म हेर्न हलमा दर्शक आउने वातावरण बन्दैन । यसका लागि सिनेमा हल खोल्नु पर्छ । फिल्म निर्माणको गति बढाउनु पर्छ । अब पनि हल सञ्चालनमा नल्याउने हो भने त्यसले नेपाली फिल्मको अर्थतन्त्र र कलाकारलाई दुरगामी असर पर्न सक्छ ।’
हल सञ्चालनमा नआउँदासम्म फिल्म रिलिजका लागि डिजिटल प्लेटफर्म विकल्प हुनसक्ने उनको तर्क छ । कोरोनाका कारण सिनेमा हल बन्द भएपछि हलिउड/बलिउडमा फिल्म रिलिजका लागि निर्माताहरुले ओटीटी प्लेटफर्म रोज्न थालेको उल्लेख गर्दै उनले भने- ‘यो तत्कालको विकल्प मात्र हो । दर्शकलाई हलमा फिल्म हेर्दा जस्तो आनन्द डिजिटल प्लेटफर्ममा आउँदैन ।’

कलाकार माओत्से गुरुङले पनि कोरोनाका कारण प्राविधिक तथा कलाकार रोगले भन्दा भोकले मर्ने अवस्था सृजना भएकाले फिल्म निर्माण र हल सञ्चालनमा ल्याउनु पर्ने मत राखे । मिडटाउन सिनेमा हल पोखराका सञ्चालक निकेश द्वा सावधानी अपनाएर हल सञ्चालनका लागि सरकारले अनुमति दिनुपर्ने बताउँछन् । तर, अहिले नै हलको विकल्प खोज्न नहुने उनको भनाई छ ।
तस्विर : जक्सन डटकम

