फिल्म क्षेत्रमा कोही सत्रु र कोही मित्र हुँदैन भनिन्छ । एकअर्काका कट्टर दुश्मन क्षणमै मित्र भएका र घनिष्ट मित्र क्षणमै दुश्मन भएका उदाहरण फिल्म क्षेत्रमा बग्रेल्ती छन् । नेपाली फिल्मकर्मीबीच दुई खालका सम्बन्ध स्थापित भएको पाइन्छ, देखावटी र वास्तविक । कति मिडियाको अगाडि प्रगाढ सम्बन्ध देखाउने नाटक गर्छन् भने कतिको वास्तविक रुपमा नै सुमधुर सम्बन्ध हुन्छ ।
यहाँ यो प्रशंसा जोड्नुको उद्येश्य अभिनेत्री ऋचा शर्मा र हास्यकलाकार दीपकराज गिरीको समुहबीच तीन वर्षअघि भएको घटना उठानका लागि हो । तीन वर्षअघि उनीहरुबीच के भएको थियो, त्यो सबैमाझ जगजाहेर छ । ऋचाले एक फेस्टिभलमा बोल्ने क्रममा फिल्म ‘छक्का पञ्जा’ मा महिलामाथि दुर्व्यवहार गरिएको दृश्यमा ताली बजाउने दर्शकलाई ‘मूर्ख’ भनेकी थिइन् ।
उनको यो अभिव्यक्ति दीपकराज गिरीको समुहलाई पच्ने कुरै भएन । त्यसपछि सामाजिक सञ्जालमा ऋचामाथि प्रहार सुरु हुन थाल्यो । दीपकराजले उनलाई ‘गेट वेल सुन’ भन्दै फेसबुकमा स्टाटस लेखे- ‘एक जना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलाई मूर्ख भन्नुभएछ । प्रिय नायिकाज्यू दर्शकलाई मूर्ख भन्नु भएकाले नै तपाईंका फिल्मले कहिल्यै दर्शक पाएनन् ।’
.jpg)
ऋचालाई असफल अभिनेत्रीको ट्याग दिँदै कलाकार गिरीले लेखेको स्टाटस उनको समुहका प्रियंका कार्की, दीपाश्री निरौला, स्वस्तिमा खड्कालगायत फेसबुकमा शेयर गरे । यो घटनापछि दीपक-दीपाको समुहसँग ऋचाको लामो समय पानी बाराबार भयो । तर, धेरै समय उनीहरुले मनमा इख पालेर बसेनन् । उक्त घटनाको वर्ष दिनपछि उनीहरुबीच बोलचाल सुरु भयो ।
अब, तीन वर्षपछि ऋचा शर्मा र दीपक-दीपाको सुमहबीच फरक दृश्य देख्न पाइएको छ । ‘छक्का पञ्जा’ मा महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा ताली बजाउने दर्शकलाई ‘मूर्ख’ भनेकी ऋचाले ‘छक्का पञ्जा’ कै तेस्रो सिरिजको एप राइट्स खरिद गरेकी छन् । चाँडै लञ्च हुन लागेको ‘चलचित्र टीभी’ नामक एपका लागि उनले दीपकराज गिरीको समुहसँग उक्त फिल्म किनेकी हुन् ।
अभिनेत्री ऋचाले दीपक-दीपा समुहले निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ को पनि एप राइट्स खरिद गरेको जानकारी प्राप्त छ । पछिल्लो समय एपको माध्यमबाट फिल्म हेर्ने दर्शक बढेका कारण ऋचाले अमेरिकामा रहेका केही लगानीकर्तासँगको सहकार्यमा ‘चलचित्र टीभी’ एप सार्वजनिक गर्न लागेकी हुन् । जुनको २४ तारिखबाट यो एप सार्वजनिक हुँदैछ ।
दुई फिल्मका लागि अभिनेत्री ऋचा शर्माले १०/१० लाख रुपैयाँ एड्भास रकम समेत बुझाइसकेकी छन् । योभन्दा बढी नाफा भएको खण्डमा दुई समुहबीच शेयर बाँडफाँड हुनेछ । ऋचाले दीपक-दीपा समुहको फिल्म खरिद गर्दैगर्दा धेरैको मनमा एउटा जिज्ञासा उब्जिएको छ- ‘उनले महिलामाथि थप्पड हानेको दृश्य नभएका कारण फिल्म किनेकी हुन् वा फिल्म नै हेरेकी छैनन् ?’

