अभिनेत्री कंगना रनावतले बलिउडमा व्याप्त नातावादका कारण अभिनेता सुशान्त सिंह राजपूत डिप्रेसनमा पुगेको र त्यही कारण आत्महत्या गरेको अभिव्यक्ति दिएपछि अहिले बलिउडमा नातावादको विषयमा एकपटक फेरि बहस चर्किएको छ । यसको बाछिटा नेपाली फिल्म क्षेत्रमा पनि देखिएको छ । केही सेलिब्रेटीहरु नेपाली फिल्ममा व्याप्त नातावादको विरोध गरिरहेका छन् ।

गएको तीन दिनअघि अभिनेत्री नम्रता सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट्याउँदै नेपाली फिल्ममा मौलाएको नातावादले प्रतिभावान व्यक्तिहरु पछाडि परिरहेको र यसका कारण धेरै कलाकारहरु डिप्रेसनको शिकार भएको बताएकी थिइन् । उनको समर्थन गर्दै अभिनेत्री वर्षा सिवाकोटीले फेसबुकमा स्टाटस लेख्दै आफूले पनि यी कुरा भोगेको बताइन् ।
तर, उनीहरुको भनाईमा थोरै फिल्मकर्मीले मात्र समर्थन जनाएका छन् । कतिले फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ नभएर ‘ग्रुपिज्म’ को समस्या रहेको बताएका छन् भने कतिले यी दुवैखाले विषयमा भिन्न मत राखेका छन् । ‘छ माया छपक्कै’ फेम्ड निर्देशक दीपेन्द्र लामाले फेसबुकमा एक स्टाटस लेख्दै नेपाली फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ र ‘नेप्टोइज्म’ केही पनि नभएको बताएका छन् ।
फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ को विषयमा बहस गर्नुको औचित्य नभएको आशय व्यक्त गर्दै उनले लेखेका छन्, ‘नेपाली फिल्म खेलेर करोडौं पारिश्रमिक पाउने पनि होइन । फिल्म खेलेर गाडी-बंगला जोहो गर्ने नेपाली कलाकार बढीमा ३-४ जना होलान् । बाँंकीलाई खर्च चलाउनै धौधौ छ । फेरि, जुगजुगसम्म बाँचिरहने फिल्म बन्ने भए पो कलाकारहरु अमर रहिरहने सम्भावना हुन्छ । त्यो हैसियत पनि नेपाली फिल्मको छैन ।’
दुई दिनअघि हास्यकलाकार दीपकराज गिरीले फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ नभएर ‘नेप्टोजम’ र ‘चेप्टोजम’ को समस्या रहेको बताएका थिए । उनको भनाईप्रति पनि फरक मत राख्दै निर्देशक लामा अगाडि लेख्छन्, ‘सामाजिक सञ्जालमा हेर्नुस्, नेतापछि बढी गाली खानेमा कलाकार नै पर्छन् । अब, यस्तो क्षेत्रमा केको नेपोटिज्म, केको नेप्टोइज्म । वास्तवमा यहाँ कुनै इज्म नै छैन ।’

