अहिलेका चल्तीका अभिनेता प्रदीप खड्का र दर्शकको नाडी छामेर मनछुने लभस्टोरी फिल्म पस्कन सिपालु मानिने निर्देशक दिनेश राउतबीच टिमअप भएको हेर्ने धेरैलाई इच्छा थियो । दुवै लभस्टोरी जनरामा फिट मानिने भएका कारण पनि दर्शकहरु उनीहरुबीच टिमअपको प्रतिक्षामा थिए । यसअघि फिल्म ‘भैरवी’ मा दुईबीच टिमअप भए पनि यो फिल्म बन्न सकेको थिएन ।
अब भने प्रदीप र दिनेशले नयाँ प्रोजेक्टमा सँगै काम गर्ने भएका छन् । केही दिनअघि उनीहरुबीच नयाँ फिल्मका लागि निरन्तर भेटघाट भइरहेको खबर बाहिरिएको थियो । प्रदीप आफैं फिल्मको प्रस्ताव लिएर निर्देशक राउतसामु पुगेका थिए । उनले प्रदीपको प्रस्ताव स्वीकार गरेपछि फिल्मको स्क्रिप्टमा काम सुरु भएको छ । फिल्मका लागि विकाश सुवेदीले स्क्रिप्ट लेखिरहेका छन् ।
.jpg)
कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनको समयमा अभिनेता प्रदीप आफूलाई अफर भएको फिल्ममा निर्देशकको प्रस्ताव लिएर दिनेशसमक्ष पुगेका थिए । निर्देशक राउतले क्याप्टेनसिप सम्हालेको खण्डमा मात्र उक्त फिल्ममा काम गर्ने प्रदीपको अडान थियो । विभिन्न चरणमा भएको छलफलपछि निर्देशक राउत फिल्मको निर्देशन गर्न राजी भएका हुन् ।
नाम तय नभइसकेको फिल्मको छायांकन अर्को वर्षबाट सुरु हुने बताइएको छ । अभिनेता प्रदीप खड्का फिल्म ‘प्रेमगीत ३’ को प्रदर्शनपश्चात् निर्देशक हेमराज विसीको फिल्म ‘अशुभ विवाह’ गर्दैछन् । यो फिल्मपछि उनले निर्देशक राउतसँगको प्रोजेक्टलाई समय दिने स्रोत बताउँछ । यो बीचमा निर्देशक राउतले निर्माता रोहित अधिकारीको फिल्म गर्ने जानकारी प्राप्त छ ।
दिनेश राउतले छाडे ‘मेरो एउटा साथी छ २’
दशक अगाडिको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ लाई सुदर्शन थापाले निर्देशन गरेका थिए । यसमा निर्देशक दिनेश राउत सहायक निर्देशकको रुपमा थिए । यसको सिक्वेलमा भने सुदर्शनलाई दिनेशले रिप्लेस गरे । गत वर्ष आइकोर फिल्मस्ले ‘मेरो एउटा साथी छ २’ को निर्देशकमा राउतलाई मोटो रकममा अनुबन्ध गरेको थियो । तर, अब उनले यो फिल्म नगर्ने भएका छन् ।
फिल्मीखबरलाई गोप्य स्रोतले दिएको जानकारी अनुसार, निर्देशक राउतले फिल्म ‘मेरो एउटा साथी छ २’ बाट हात झिकिसकेका छन् । अभिनेता प्रदीपसँग नयाँ प्रोजेक्टमा टिमअप भएपछि उनले यो फिल्म नगर्ने निर्णय लिएको बुझिएको छ । यद्यपि, यस विषयमा निर्देशक दिनेश राउत र निर्माण कम्पनी आइकोर फिल्मस्बाट कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन ।
‘मेरो एउटा साथी छ २’ बाट हात झिके पनि निर्देशक राउतको पाइपलाइनमा तीन फिल्म छन् । गत वर्ष निर्माता रोहित अधिकारीसँग उनको एक फिल्मका लागि सम्झौता भएको थियो । अब, प्रदीप खड्कासँग टिमअप भएको छ । उनको हातमा अर्को एक फिल्म पनि छ । ‘नोभेम्बर रेन’ जस्तो उम्दा फिल्म दिएका उनले पछिल्लो पटक फिल्म ‘प्रसाद’ निर्देशन गरेका थिए ।

