Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

नेपाली फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ छैन : प्रदीप उदय

फिल्मीखबर, काठमाण्डौ, 2020/06/17
अभिनेता सुशान्त सिंह राजपूतले गएको आइतवार आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरे । यसपछि बलिउडमा ‘नेपोटिज्म’ को विषयमा बहस चर्किएको छ । अभिनेत्री कंगना रनावतले बलिउडमा व्याप्त नातावादका कारण सुशान्तले आत्महत्याको बाटो रोजेको अभिव्यक्ति दिएपछि नेपाली फिल्म क्षेत्रमा पनि गएको दुई दिनयता यस विषयमा चर्को रुपमा बहस भैरहेको छ । 
 
 
नेपाली फिल्म क्षेत्रमा मौलाएको ‘नेपोटिज्म’ का कारण मेहेनत गरेर अगाडि बढ्न चाहने र अभिनयमा अब्बल कलाकारहरु डिप्रेसनको शिकार भएको कतिपयको भनाई छ । कतिले भने फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ भन्दा डरलाग्दो रोग ‘ग्रुपिज्म’ को रहेको धारणा व्यक्त गरिरहेका छन् । तर, फिल्म निर्माता प्रदीप कुमार उदय नेपाली फिल्म क्षेत्रमा यी दुवै कुरा नरहेको दाबी गर्छन् । 
 
सामाजिक सञ्जालमा फेसबुकमा एक स्टाटस लेख्दै उनले हरेक आमा-बुबाले आफ्ना छोरा-छोरीलाई स्थापित गर्न प्रयास गर्ने र यो हरेक क्षेत्रमा हुने बताएका छन् । उनी यसलाई ‘नेपोटिज्म’ नभएर अभिभावकको दायित्व मान्छन् । कोरोनाको महामारीबाट तहसनहस अहिलेको स्थितिमा ‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ को कुराहरू अनावश्यक रूपमा उठाउन उचित नभएको उनको तर्क छ । 
 
नेपाली फिल्म क्षेत्रमा ‘ग्रुपिज्म’ मौलाएको भन्ने विषयमा पनि उनले भनाई राखेका छन् । उनले लेखेका छन्, ‘चलचित्र समुहबाट नै निर्माण हुने हो र चलचित्र निर्माण गर्दा निर्माणमा सहज भयो र दर्शकले मन परायो भने निर्माता-निर्देशकले पुनः आफ्नो चलचित्रमा लिने हो र लिनु पनि पर्दछ । त्यस्तो अवस्थामा समुहगत भयो भन्नु उपयुक्त हुँदैन । त्यो ‘नेपोटिज्म’ हुँदैन र भनिँदैन पनि ।’
 

निर्माता उदय अगाडि थप्छन्, ‘चलचित्रमा दर्शकले रूचाएनन् भने केही हुँदेन जति सुकै कसैले कसैलाई स्थापित गर्न खोजे पनि । त्यसैले कोरोनाको महामारीवाट तहसनहस अहिलेको स्थितिमा यस्तो कुराहरू अनावश्यक रूपमा उठाउनु भनेको ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै हो ।’ उनको यो भनाईमा अभिनेत्री रेखा थापाले समेत समर्थन जनाएकी छन् । 
Most Visited News (monthly)