अभिनेत्री कंगना रनावतले बलिउडमा व्याप्त नातावाद (नेपोटिज्म) का कारण अभिनेता सुशान्त सिंह राजपूत डिप्रेसनको शिकार भएको र आत्महत्याको बाटो रोजेको अभिव्यक्ति दिएपछि यो मुद्धाले नेपाली फिल्म क्षेत्रमा पनि बहसको रुप लिएको छ । यस विषयमा नेपाली फिल्मकर्मीहरुले आफ्नो भनाई व्यक्त गरिरहेका छन् । तर, यो विषयमा हरेकको आ-आफ्नै तर्क छ ।
(3).jpg)
अभिनेत्री द्वय नम्रता सापकोटा र वर्षा सिवाकोटीले नेपाली फिल्म क्षेत्रमा बढेको नातावादका कारण प्रतिभावान व्यक्तिहरु पछाडि परिरहेको र यसले धेरै डिप्रेसनको शिकार भएको बताएका छन् । तर, यस विषयमा अभिनेता सुशील श्रेष्ठको भिन्न मत छ । उनी नेपाली फिल्म क्षेत्रमा नातावाद नरहेको बताउँछन् । फिल्मी परिवारबाट आउनेहरुले पनि मेहेनत गर्ने गरेको उनको भनाई छ ।
सामाजिक सञ्जाल फेसबुकमा अभिनेता सुशीलले लेखेका छन्, ‘म कुनै फिल्मी परिवारबाट आएको होइन र मलाई फिल्मी परिवारबाट आउने कलाकारहरुसँग केही ईर्ष्या पनि छैन । नेपाली फिल्म क्षेत्र भर्खरै त पाइला टेक्दै छ, हुकिँदै छ अघि बढ्दै छ। ‘नेपोटिज्म’ कताबाट आयो अहिले नै ? फिल्मी परिवारबाट आएको कलाकारहरु पनि कति चलेका छन् र कति चलेका छैनन् ।’
फिल्मी परिवारबाट आएका कति कलाकारहरु आफ्नो प्रतिभाले नेपाली फिल्ममा राम्रो स्थान हासिल गरेको उल्लेख गर्दै उनले कतिपय अहिलेसम्म मेहेनत गर्दै अगाडि बढिरहेको बताएका छन् । उनी थप्छन्, ‘हामी नेपालमा अहिले नै यस्तो ‘नेपोटिज्म’ को कुरा नगरौं जस्तो लाग्छ । बरु आफू मेहेनत गर्दै गरौं । अगाडि बढ्दै गरौं । यही हार नै तपाईंको जितको सुरुवात हुनेछ ।’
आफूसँगै धेरै कलाकारहरु फिल्मी परिवारबाट नभए पनि नेपाली फिल्ममा राम्रो स्थानमा पुगेको बताउँदै उनले आफ्नो पक्षबाट मात्र नसोच्न पनि आग्रह गरेका छन् । ‘हामी जहिले सोच्दा आफ्नो ‘पोइन्ट अफ भ्यू’ बाट सोच्छौं, कहिले काहिँ फिल्मी परिवारबाट आउने कलाकारहरुको ‘पोइन्ट अफ भ्यू’ बाट पनि सोचौं । उनीहरुले पनि त मेहनत गरेकै हुन्छन’, उनले भनेका छन् ।

