बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनलाई धेरैले बलिउडमा मौलाउँदो नातावादको राजनीतिलाई मानेका छन् । यसले नेपाली फिल्म क्षेत्रमा पनि बहसको रुप धारण गरेको छ । यसअघि केही अभिनेता तथा अभिनेत्रीले नेपाली फिल्ममा बढ्दो नातावादले पारेको असरबारे अभिव्यक्ति दिएका थिए । तर, धेरै यस विषयमा बोल्दा फिल्ममा काम नपाउने डरले मौन बसे ।
.jpg)
सुशान्तको निधनप्रश्चात् नेपाली फिल्म क्षेत्रमा नातावाद हाबी हुँदा अभिनयमा उम्दा कलाकारहरु डिप्रेसनको शिकार भएको भन्दै बहस छेडिएको छ । सोमवार साँझ फेसबुकमा एक भिडियो पोस्ट्याउँदै अभिनेत्री नम्रता सापकोटाले नातावादको कुरा गर्न बलिउडसम्म पुग्नै नपर्ने बताउँदै नेपाली फिल्ममै यसले जरा गाँडेको उल्लेख गरेकी छन् । फिल्म क्षेत्रमा धेरैले आफ्नालाई मात्र सपोर्ट गर्ने गरेको उनको भनाई छ ।
उनले भनेकी छन्, ‘कला र कलाकारितालाई भन्दा पनि आफ्नोलाई सपोर्ट हुन्छ यहाँ । यहाँ फिल्मको घोषणा हुन्छ, कलाकार चाहियो भनेर घोषणा गरिन्छ । जब अन्तिममा कलाकार देखिन्छ, आफ्नै छोरा-छोरी वा भतिजा–भतिजी हुन्छ । यहाँ एउटा फिल्म गर्न यति पारिश्रमिक लियो भन्ने खबर आउँछ । जुन सुन्दा हामी आफैंलाई अचम्म लाग्छ । तर, त्यो फिल्म आफ्नै माता-पिताले बनाएको हुन्छ ।’
आफूले बनाउने फिल्ममा आफ्ना छोरा वा छोरीले यति पारिश्रमिक लियो भनेर बजारमा सोकल्ड हल्ला फैलाउने गरिएको भन्दै अभिनेत्री सापकोटाले मेहेनत गरेर अगाडि बढ्न चाहनेलाई नातावादले थिच्ने गरेको पनि बताइन् । अभिनय कमजोर हुने, फिल्म क्षेत्रका व्यक्तिसँग राम्रो सम्बन्ध हुने र व्यापार राम्रो दिन सक्नेको मात्र फिल्म क्षेत्रमा काम रहेको उनको बुझाइ छ ।
उनले मेहेनत गरेर आउने र अभिनय राम्रो हुनेलाई फिल्म क्षेत्रमा कसैले नगन्ने तितो यथार्थ पनि सुनाइन् । आफू कलाकार भएका कारण कतिपय कुराहरु गलत सुनिने भए पनि आफूले वास्तविक कुरा मात्र गरेको बताउँदै उनले थपिन्, ‘फिल्म क्षेत्रमा ५०-६० प्रतिशत व्यक्तिले आफ्नालाई मात्र महत्त्व दिन्छन् । अनि, कलाकार डिप्रेसनमा नगएर केमा जान्छन् त ?’

