Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राम्रो फिल्म नपाएर कोही डिप्रेसनमा नजाओस्’ : आमेष भण्डारी

फिल्मीखबर, काठमाण्डौ, 2020/06/15
धेरैको बुझाइ छ, ‘जो व्यक्ति खुसी देखिन्छ ऊ पीडामा हुँदैन ।’ नाम र दाम दुवै कमाएका व्यक्ति अन्य मानिसभन्दा खुसी हुन्छन् भन्ने सोचाइ पनि धेरैमा छ । यदी यसो हुन्थ्यो भने अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्याको बाटो रोज्दैन थिए । उनीसँग के थिएन ! नाम र दाम भने जस्तै कमाएका थिए । फिल्म करिअरले उभो गति लिँदै थियो । तर, आइतवार उनले आफ्नै प्राण लिए । 
 
उनले आत्महत्याको विकल्प नभेट्नुलाई धेरैले धेरै कोणबाट अर्थ्याएका छन् । कतिले ठूलो ब्यानरको फिल्म नपाउनु र एकपछि अर्को फिल्म बक्सअफिसमा असफल हुनुलाई मानेका छन् भने कतिले प्रेम सम्बन्धलाई प्रमुख कारण देखाएका छन् । तर, उनले के कारणले आत्महत्या गरे ? त्यसको रहस्य खुलेको छैन । प्रहरीले उनी बस्ने अपार्टमेन्टमा कुनै सुसाइड नोट भेटाएको छैन । 
 
 
यी चकलेटी हिरोको निधनले बलिउड शोकमा डुबेको छ । नेपाली फिल्मकर्मीहरु पनि उनको निधनले दुःखी छन् । उनीहरुले आत्महत्या समस्याको समाधान नभएको भनाई पनि राखिरहेका छन् । अभिनेता आमेष भण्डारीले भने पैसाको अभावमा कसैले आत्महत्या नगर्न र राम्रो फिल्म नपाएर कोही डिप्रेसनमा नजान भनेका छन् । एकअर्कालाई साथ र सहयोग गर्न उनको अपिल छ ।
 
कलाकारको रिल र रियल लाइफ फरक हुने बताउँदै उनले फेसबुकमा लेखेका छन्, ‘फिल्म हेर्न मज्जा आउँछ तर भित्र आफ्नै कहानी दर्दनाक हुन्छ । कलाकारले हाँसेर फिल्ममा कुरा उडाउलान् तर वास्तविक जीवनमा ऊ पनि एउटा मान्छे हो । उसको पनि मन छ । खुसीसँगै उसको मनमा धेरै पीडा दबेको हुन्छ । तर, विडम्बना ! कलाकारले आफ्नो पीडा व्यक्त गर्न नै सक्दैन ।’ 
 
उनले अगाडि लेखेका छन्, ‘दर्शकको नजरमा हिरो जहिल्यै पावरफूल हुन्छ र सबैले सोच्दछन् कि ऊ वास्तविक जीवनमा पनि त्यस्तै हुन्छ । सुशान्तले आत्महत्या गर्नुहुन्न भन्ने सन्देश बोकेको फिल्म त गरे तर अन्त्यमा उनी आफैंले त्यही बाटो रोजे । त्यसैले कलाकारको रिल र रियल लाइफ एकदमै फरक हुन्छ ।’ उनले फिल्म इन्डस्ट्रीमा फेमिली खोजेर नपाउने पनि बताएका छन् । 
 
आफूलाई परिवारले कहिल्यै कुनै कुरामा अभाव महशुस हुन नदिएको र आफूले भोलीका दिनमा राम्रो फिल्म नपाए पनि त्यसले आफूलाई डिप्रेसनमा नल्याउने अभिनेता भण्डारीको विश्वास छ । ‘मलाई पैसाको अभाव पनि हुने छैन, किनभने खान, लाउन, हिँड्न र राम्रो जीवन जिउन फिल्म क्षेत्र बाहेक आफ्नै पारिवारिक व्यापार गर्छु र, धेरै मिहेनत गर्छु,’ उनले लेखेका छन् । 
 
फिल्म क्षेत्रमा जीवन समर्पित गर्नेलाई कहिल्यै कामको खाँचो हुन नदिन पनि उनले फिल्मकर्मीहरुलाई आग्रह गरेका छन् । ‘पैसा नभएर कसैले आत्महत्या नगरोस् । राम्रो फिल्म नपाएर कोही डिप्रेसनमा नजाओस्,’ उनी अगाडि लेख्छन्, ‘इन्डस्ट्री सानो छ । अरुको दाँजोमा कलाकार पनि थोरै छन् । सबैलाई काम दिन सकिन्छ र पुग्छ । यदी हामी परिवार हौं भने एकअर्कालाई हेरौं ।’ 
 

अभिनेता आमेश भण्डारीले दिनेश डिसी निर्देशित फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ बाट अभिनयमा डेब्यू गरेका थिए । यो फिल्म प्रदर्शनको समयमा उनी अभिनेत्री नीता ढुंगानासँगको प्रेममा थिए । तर, फिल्म हलबाट उत्रिएसँगै उनीहरुको प्रेममा पनि  पूर्णविराम लाग्यो । आमेषको पछिल्लो रिलिज फिल्म ‘मेला’ हो । यो फिल्मपछि उनले अभिनयलाई प्राथमिकता दिएका छैनन् । 
Most Visited News (monthly)