Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुशान्तको निधनले नेपाली सेलिब्रेटी स्तब्ध

फिल्मीखबर, काठमाण्डौ, 2020/06/15
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले ३४ वर्षको उमेरमा आइतवार संसारबाट विदा लिएका छन् । उनी मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । पोस्टमार्टम रिपोर्टमा उनी आफैंले आत्महत्या गरेको खुलेको छ । हँसिलो स्वभावका यी चकलेटी हिरोको निधनले यतिबेला बलिउडमा शोकको लहर छाएको छ । उनका प्रशंसकहरु स्तब्ध भएका छन् । 
 
नेपाली फिल्मकर्मीहरुले पनि अभिनेता सुशान्तलाई सामाजिक सञ्जालको माध्यमबाट संवेदना प्रकट गरेका छन् । धेरैले उनको निधनले कलाकारको भित्री पाटो बाहिर आएको प्रतिक्रिया जनाएका छन् । ‘एम एस धोनी’, ‘छिछोरे’, ‘केदारनाथ’ जस्ता फिल्मबाट नेपाली दर्शकको मनमा घर बनाएका उनीप्रति मनिषा कोइरालादेखि दीपकराज गिरीसम्मले संवेदना व्यक्त गरेका छन् । 
 
 
अभिनेत्री मनिषा कोइरालाले ट्विटरमा लेखेकी छन्, ‘यो सुनेर एकदमै स्तब्ध छु । विभिन्न विषयमा उनको बहस मन पथ्र्यो । हार्दिक संवेदना । ओम शान्ति ।’ अभिनेत्री शिल्पा पोखरेलले जति ठूलो नेम र फ्रेम भयो त्यति धेरै सामाजिक समस्याहरु उत्पन्न हुने बताएकी छन् । निराशा र एक्लोपन भए पनि समाजलाई ठिक छु भनेर देखाउनु कलाकारको बाध्यता रहेको उनको भनाई छ । 
 
अर्की अभिनेत्री प्रियंका कार्कीले ट्विटरमा सुशान्तको तस्विर साझेदार गर्दै डिप्रेसनको अनुहार नहुने भएकाले सबैसँग नम्र हुन आग्रह गरेकी छन् । त्यस्तै, हास्यकलाकार दीपकराज गिरीले फिल्म ‘छिछौरे’ मा आफ्नो छोरालाई आत्महत्या समस्याको समाधान होइन भन्ने पाठ सिकाएका सुशान्त आफैंले आत्महत्याको बाटो रोजेकोमा सामाजिक सञ्जाल फेसबुकमा दुःख व्यक्त गरेका छन् । 
 
सान्तवना दिन, सम्झाउन सजिलो भए पनि जिन्दगीको भागदौडमा गर्नुपर्ने संघर्ष र त्यसबाट निस्कने निराशाको विष समुन्द्र मन्थनबाट निस्केको कालोकुट विषभन्दा कम हानिकारक नहुने उनको भनाई छ । ‘आत्महत्या गर्ने मान्छेले तुरून्तै डोरी लगाउँदैन । उसले केही संकेतहरु अवश्य गरेको हुन्छ । यस्तो बेलामा एकले अर्कालाई सम्झाउने कोशिस गर्नुपर्छ,’ उनले लेखेका छन् । 
 
अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत, वर्षा सिवाकोटी, मिरुना मगर, निकिता चाण्डक, अभिनेता विराज भट्ट, रमेश उप्रेती, कलाकार मनोज गजुरेललगायत थुप्रै नेपाली सेलिब्रेटीहरुले आत्महत्या समस्याको समाधान नभएको बताउँदै अभिनेता सुशान्तप्रति संवेदना व्यक्त गरेका छन् । सुशान्तकै सोमवार अन्त्येष्टि गरिँदैछ । 
Most Visited News (monthly)