Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

३५ वर्षमा लागिन् नम्रता

फिल्मीखबर, काठमाडौं, 2020/06/14
नेपाली फिल्मकी सुन्दरी अभिनेत्री नम्रता श्रेष्ठ आइतवारबाट ३५ वर्षमा लागेकी छन् । हरेक प्रकारका भूमिकामा आफूलाई ढाल्न सिपालु मानिने उनले यसपटक आफ्नो जन्मदिन परिवारसँग मनाउँदैछिन् । कोरोना भाइरसका कारण जारी लकडाउनपछि घरभित्रै सीमित रहेकी उनलाई सामाजिक सञ्जालमा फिल्मकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।
 
फिल्म ‘सानो संसार’ बाट अभिनय करिअर सुरु गरेकी नम्रता लभस्टोरी फिल्ममा सबैभन्दा रुचाइएकी अभिनेत्रीमा पर्छिन् । ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘क्लासिक, ‘प्रसाद’ जस्ता फिल्ममा जीवन्त अभिनय गरेर दर्शकको मनमा बस्न सफल भएकी उनले आफूलाई निर्मात्रीको रुपमा पनि चिनाइसकेकी छन् । उनले ‘सोल सिस्टर’ र ‘जाइरा’ फिल्ममा लगानी गरेकी थिइन् ।
 
 
पर्दामा दर्शकले उनको जोडी अभिनेता आर्यन सिग्देलसँग रुचाउने गरेका छन् । यी दुईले सहकार्य गरेका फिल्म बक्सअफिसमा सफल पनि छन् । तर, फिल्म ‘क्लासिक’ पछि उनीहरुबीच सहकार्य हुन सकेको छैन । त्यस्तै, नम्रताका लागि लक्की निर्देशक दिनेश राउत मानिन्छन् । उनले निर्देशक राउतको एक्सन कटमा चार फिल्म गरेकी छन्, जसमा तीन फिल्म हिट छन् ।
 
मोडलिङ र थिएटर हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री नम्रताको पछिल्लो रिलिज फिल्म ‘जाइरा’ हो । यसमा उनी मार्सल आर्ट खेलाडीको भूमिकामा थिइन् । पहिलो पटक यसप्रकारको भूमिकामा देखिएका कारण उनलाई यो फिल्मबाट ठूलो आश थियो । तर, फिल्मले दर्शकलाई भने रिझाउन सकेन । यो फिल्मपछि उनले नयाँ फिल्म साइन गरेको खबर बाहिरिएको छैन । 
 
अभिनेत्री नम्रताको लभ लाइभको पनि फिल्मवृतमा निकै चर्चा हुने गरेको छ । प्रेम घले, रेमन श्रेष्ठ, डिजे तान्त्रिकपछि पछिल्लो केही वर्षयता उनी एसियन ट्रेकिङका प्रबन्ध निर्देशक दावा स्टिभन शेर्पासँगको प्रेममा छिन् । नम्रता फिल्मको छायांकन सेटदेखि सार्वजनिक कार्यक्रममा समेत प्रेमीको साथमा पुग्ने गरेकी हुन्छिन् । तर, उनीहरुले तत्काल विवाहको योजना भने बनाएका छैनन् ।
 
नेपाली फिल्मकी सुन्दरी अभिनेत्री नम्रता श्रेष्ठलाई जन्मदिनको धेरै धेरै शुभकामना ।
Most Visited News (monthly)