.jpg)
कोरोना भाइरसका कारण तीन महिनाभन्दा लामो समयदेखि जारी लकडाउन बिहीवारबाट केही खुकुलो बनाइएको छ । तीन चरणमा लकडाउन खोल्ने योजनासहित सरकारले विभिन्न २१ वटा क्षेत्र खोल्ने निर्णय गरेको छ । तर, मनोरञ्जन क्षेत्र पुनःसञ्चालनका लागि अनुमति दिइएको छैन । भीडभाड हुने क्षेत्र भएकाले लकडाउनको अन्तिम चरणमा मात्र मनोरञ्जन क्षेत्र खुल्नेछ ।
तर, तीन महिनादेखि फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि नहुँदा हजारौंको संख्यामा बेरोजगारी बढेको छ । फिल्ममा काम गरेर जीविकोपार्जन गर्ने प्राविधिकहरुलाई विहान बेलुका हात मुख जोर्नै समस्या भएको छ भने सिनेमा हल बन्द हुँदा बैंकको ऋण र कर्मचारीको तलब कसरी तिर्ने भन्ने चिन्ताले हल सञ्चालकलाई पिरोलेको छ । निर्माता र कलाकारको पीडा पनि कम छैन ।
फिल्म क्षेत्रलाई चाँडोभन्दा चाँडो चलायमान बनाउन अब फिल्मसँग सम्बन्धित कार्यहरु पुनःसञ्चालनको अनुमति दिनुपर्ने माग उठ्न थालेको छ । फिल्म क्षेत्रमा आश्रित हजारौं श्रमिकहरु रोगले भन्दा भोकले मर्ने अवस्था सृजना हुन थालेको भन्दै भारतमाझैँ शर्तपूर्वक फिल्म वा अन्य भिडियो सामाग्रीको छायांकनका लागि सरकारले अनुमति दिनुपर्ने फिल्मकर्मीहरुको भनाई छ ।
निर्देशक तथा निर्माता दिनेश राउतले तत्काल फिल्म प्रदर्शन गर्ने वातावरण बन्न नसके पनि फिल्मको छायांकनका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन् । उनले फिल्मीखबरसँग फोनवार्तामा भने- ‘भारतमा विभिन्न शर्त राखेर फिल्मको छायांकनका लागि अनुमति दिइएको छ । नेपालमा पनि यो मोडालिटीमा सरकारले फिल्मको छायांकनका लागि अनुमति दिँदा राम्रो हुन्छ ।’
कोरोनाका कारण जारी लकडाउनले तीन महिनादेखि फिल्म क्षेत्रमा कुनै कार्य नहुँदा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई समस्या परेको बताउँदै उनले थपे- ‘यो अवस्थामा फिल्मको छायांकन खुल्ला गर्न सके फिल्म क्षेत्र धेरै हदसम्म चलायमान हुनसक्छ । त्योभन्दा ठूलो कुरा रोजीरोटी गुमेर जीविकोपार्जन गर्न समस्या भएका प्राविधिकहरुलाई ठूलो राहत मिल्नेछ ।’

