.jpg)
कोरोना भाइरसबाट बच्न सरकारले लकडाउनको घोषणा गरेपछि थुप्रै फिल्मको प्रदर्शन अनिश्चितकालका लागि रोकिएको छ । प्रचार-प्रसार समेत गरिसकेका फिल्मको प्रदर्शन रोकिँदा निर्मातालाई लाखौं क्षति भएको छ । अझै फिल्म प्रदर्शनको वातावरण कहिले बन्छ, टुंगो छैन । सरकारले लकडाउन खुलाए पनि ६ महिनासम्म हलमा नयाँ फिल्म प्रदर्शन हुने सम्भावना न्यून छ ।
लकडाउन खुलेको ६ महिनासम्म हलमा फिल्म प्रदर्शन गर्ने वातावरण नहुने देखेपछि निर्माता सन्तोष सेनले फिल्म ‘प्रेमगीत ३’ को प्रदर्शन आगामी नयाँ वर्षमा गर्ने सोच बनाएका छन् । फिल्मको एक महिनामा पोष्ट प्रोडक्सनको सम्पूर्ण काम सकिने जानकारी दिँदै उनले यो भयावह स्थिति तत्कालै सामान्य भए आगामी दशैं नभए २०७८ सालको नयाँ वर्षमा फिल्म प्रदर्शन गर्ने बताए ।
हाल गृहजिल्ला पोखरामा रहेका उनले फोनवार्तामा भने- ‘सरकारले तीन चरणमा लकडाउन खोल्ने भन्ने सुनेको छु । लकडाउन खुले पनि ६ महिनासम्म हलमा फिल्म प्रदर्शन गर्ने वातावरण बन्छ जस्तो मलाई लाग्दैन । तत्कालै स्थिति सामान्य भए दशैंमा फिल्म रिलिज गर्छौं । तर, यो हुने सम्भावना न्यून छ । दशैंमा भएन भने आउँदो नयाँ वर्ष (बैशाख) मा फिल्म प्रदर्शन गर्छौं ।’
ठूलो लगानीमा ‘प्रेमगीत ३’ निर्माण भएका कारण हल खुल्न साथ फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन नसक्ने उनी बताउँछन् । १० महिनापछि स्थिति सामान्य हुने उनको विश्वास छ । यो फिल्म गत वर्षको चैत २८ गते प्रदर्शन हुँदै थियो । तर, सरकारले लकडाउन घोषणा गरेपछि निर्माण टिमले फिल्मको प्रदर्शन स्थगन गर्यो । फिल्मको दुई गीत र टिजर सार्वजनिक भैसकेको छ ।
छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्ममा प्रदीप खड्का, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मबाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

