Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हल सञ्चालकमाथि खनिए निर्माता वाग्ले

फिल्मीखबर, काठमाण्डौ, 2020/06/12
कोरोना भाइरसबाट अन्य क्षेत्रझैँ फिल्म क्षेत्र पनि प्रभावित बनेको छ । लकडाउनपछि फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि नहुँदा करोडौंको क्षति भएको छ भने हजारौंको संख्यामा बेरोजगारी बढेको छ । कोरोनाबाट सबैभन्दा पीडित हल सञ्चालक देखिएका छन् । करोडौंको लगानीमा खोलिएका हल बन्द हुँदा बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ताले हल सञ्चालकलाई सताउन थालेको छ ।
 
आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सरकारले फिल्म क्षेत्रलाई लक्षित गरेर राहतको प्याकेज घोषणा गर्ने विश्वास फिल्मकर्मीमा थियो । तर, बजेटले फिल्म क्षेत्रका समस्या सम्बोधन गर्न सकेन । बजेटमा सिनेमा हललाई उपेक्षा गरेको भन्दै हल सञ्चालकहरु आक्रोशित भएका छन् । उनीहरुले तत्काल फिल्म क्षेत्रका समस्या सम्बोधन नभए हलको चाबी बुझाउने चेतावनी दिएका छन् । 
 
 
यसबीच, निर्माता माधव वाग्लेले हलको गुणस्तर वृद्धिको लागि गरिने करोडौंको लगानी र कर्मचारीको भुक्तानी नितान्त हलको जिम्मेवारी रहेको बताएका छन् । यसको असुल निर्माताको फिल्मबाट गर्न नपाइने उनको भनाई छ । उनले शुक्रवार फेसबुकमा स्टाटस लेख्दै निर्माताले हलको लगानी र स्टाफको तलब हेर्नुपर्ने हल सञ्चालकको अभिव्यक्तिप्रति आफ्नो धारणा राखेका छन् ।
 
निर्माता वाग्लेले लेखेका छन्, ‘सिनेमा घरको लगानी प्रदर्शनको व्यवसायिक अधिकारको कुरा हो । यसमा कुनै पनि निर्माताले यति लगानी गर, यस्तो उपकरण जोड, स्टाफ यति राख, यति तलब दे भन्दैन र भनेको पनि छैन । यति लगानी गरेको हलमा निर्माताको चलचित्रबाट असुल पनि गर्नुपर्छ भन्ने उदयजी र शर्माजीको आशय अत्यन्तै आपत्तिजनक र गैर व्यवसायिक छ ।’
 
हलको खर्च निर्माताबाट असुल गर्नुपर्ने हल सञ्चालकको अभिव्यक्तिको विरोध गर्दै उनले थपे- ‘निर्माताले हलको लगानी, स्टाफ तलब पनि हेर्नुपर्‍यो भन्ने तर्कलाई खण्डन गर्न निर्माताले पनि करोडौं लगानी गरेको हुन्छ, चलेको कलाकारले ३० देखि ४० लाख लिन्छ, प्राविधिकले लाखौं लिन्छ, उपकरणमा लाखौं खर्च हुन्छ । त्यो पनि हलले हेर्नुपर्छ भन्ने जवाफ फर्काउँदा न्यायोचित हुन्छ ?’ 
 

सय करोडको लगानीमा छानामा मल्टीप्लेक्स खोलेर निर्मातालाई हलाल गर्न खोज्नु न्यायोचित नहुने उनको भनाई छ । यसलाई उनी कोभिड १९ मा निर्माताले चलचित्र चलाउन चलचित्र संघसँग राहत माग्नु र संघले सरकारसँग राहत माग्नु एकै रहेको बताउँछन् । निर्माता वाग्ले लकडाउन खुलेपछि आफ्नै निर्देशनमा अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘पारस’ बनाउँदैछन् ।
Most Visited News (monthly)