Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

दिनेश र प्रदीपबीच टिमअप होला ?

फिल्मीखबर, काठमाडौं, 2020/06/12
कोरोना भाइरसका कारण जारी लकडाउनले फिल्मकर्मीहरु फुर्सदिला भएका छन् । यो समयमा कति सामाजिक कार्य गरिरहेका छन् भने कति घरमै विभिन्न क्रियाकलाप गरेर दिन काटिरहेका छन् । तीन महिनापछि सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेपछि घरभित्रै बसेर उकुसमुकुस भएका फिल्मकर्मीमा खुसी छाएको छ । अब उनीहरु काममा फर्किने प्रतिक्षामा छन् ।
 
लकडाउनअघि निर्माणको क्रममा रहेका फिल्ममा कलाकार अनुबन्ध भएका खबर आइरहेका हुन्थे । अहिलेका चल्तीका कलाकारलाई फिल्म अफर भएको खबरले पनि मिडियामा विशेष स्थान पाउने गरेका थिए । तर, कोरोनाको संक्रमण फैलिन नदिन गरिएको लकडाउनपछि न कुनै कलाकारले नयाँ फिल्म साइन गरेको न त फिल्म अफर भएको खबर नै बाहिरिएको छ । 
 
यसबीच, अभिनेता प्रदीप खड्का र निर्देशक दिनेश राउतबीच नयाँ प्रोजेक्टमा टिमअप हुन लागेको जानकारी प्राप्त भएको छ । लकडाउनका कारण फिल्म ‘प्रेमगीत ३’ को प्रदर्शन स्थगित भएपछि फुर्सदिला बनेका प्रदीपले लकडाउनकै समयमा निर्देशक राउतसँग केही पटक भेट गरेका छन् । बुझिएअनुसार, उनी आफैं फिल्मको प्रस्ताव लिएर निर्देशक राउतसामु पुगेका हुन् ।
 
 
अहिले निर्देशक राउतको पाइपलाइनमा ‘मेरो एउटा साथी छ २’ र निर्माता रोहित अधिकारीको गरि दुई फिल्म छन् । लकडाउन खुलेपछि यी दुई फिल्मध्ये एकको छायांकन आरम्भ गर्ने उनको योजना छ । प्रदीप पनि ‘प्रेमगीत ३’ प्रदर्शन भएपछि हेमराज विसीको फिल्म ‘अशुभ विवाह’ गर्ने तयारीमा छन् । यो फिल्मपछि उनी निर्देशक राउतसँग काम गर्न इच्छुक रहेको बुझिएको छ । 
 
‘प्रेमगीत’ सिरिजबाहेक कुनै फिल्मले व्यावसायिक र समीक्षात्मक सफलता प्राप्त गर्न नसक्दा प्रदीपको करिअर धरमराएको छ । यही कारण अहिले उनी आफ्नो करिअरलाई उचाइ दिलाउन सक्ने निर्देशकको खोजीमा छन् । उनी आफैं निर्देशक राउतसमक्ष फिल्मको प्रस्ताव लिएर पुग्नुले पनि यसलाई प्रस्ट्याउँछ । निर्देशक राउत नेपाली फिल्मका राम्रा निर्देशकमा गनिन्छन् ।
 
‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ जस्ता यादगार फिल्मको क्याप्टेनसिप सम्हालिसकेका निर्देंशक राउत प्रदीपसँग टिमअप गर्न सकारात्मक रहेको स्रोत बताउँछ । तर, दुईबीच मौखिक वा लिखित सम्झौता भने भएको छैन । लकडाउनको समयमा उनीहरुबीच फिल्मको कन्सेप्टको बारेमा छलफल भएको बुझिएको छ । यद्यपि, यसबारेमा दुवैले कुनै जानकारी दिएका छैनन् । 
 
यसअघि निर्देशक दिनेश राउत र अभिनेता प्रदीप खड्काबीच फिल्म ‘भैरवी’ मा टिमअप भएको थियो । यो फिल्म गर्न अभिनेता प्रदीपले ५ लाख एडभान्स समेत बुझेका थिए । तर, यो फिल्म अहिलेसम्म निर्माण हुन सकेको छैन । निर्देशक राउत र निर्माता सुवास गिरीले लामो समयदेखि फिल्मको स्क्रिप्टमा काम भइरहेको बताए पनि अब यो फिल्म निर्माण हुने सम्भावना न्यून छ । 
Most Visited News (monthly)