
कोरोना संकटमा फसेका श्रमिकहरुलाई बलिउड सुपरस्टार अमिताभ बच्चनले चार्टर विमानबाट घर पठाएका छन् । उनले १ सय ८७ जना कामदारलाई बुधवार विमानबाट गोरखपुर पठाएका हुन् । उनले हाजी अली ट्रस्टको सहयोगमा कोरोनाका कारण जारी लकडाउनका कारण मुम्बईमा फसेका १ सय ८७ जना श्रमिकलाई इन्डिगोको बोइङ विमानबाट घर पठाउने व्यवस्था गरेका हुन् ।
अमिताभ र हाजी अली ट्रस्टले गोरखपुर, यूपीलगायतका शहरका मदजुरलाई उनीहरुको घर पठाउनका लागि विमान खर्च उठाएका हुन् । अमिताभका कारण मजदुरहरु घर जान मात्र नभइ पहिलो पटक विमानमा यात्रा गर्ने मौका पनि पाएको प्रवासी श्रमिकले बताएका छन् । सबै मजदुर निर्धारित समयमा मुम्बई एयरपोर्ट पुगेर चार्टर विमानमार्फत् गोखरपुर पुगेका थिए ।
विमानमा सवार सबै श्रमिकलाई ग्लब्स, सेनिटाइजर र खानपिनको सामान पनि दिइएको थियो । विमानको पूरा खर्च अमिताभको टिम मिशन मिलाप र हाजी ट्रस्टले उठाएको छ । विमानमार्फत् घर पुर्याउने व्यवस्था गरेकोमा श्रमिकहरुले अमिताभलाई धन्यवाद व्यक्त गरेका छन् । अभिनेता सानु सुदले पनि अहिले आफ्नै खर्चमा विमान, ट्रेन र गाडीबाट श्रमिकहरुलाई घर पठाइरहेका छन् ।

