Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 4.73/5.00)
Text size:-
+
-

पुष्प भन्छन्, ‘लकडाउनपछि राजनीतिप्रति चासो बढ्यो’

फिल्मीखबर, काठमाण्डौ, 2020/06/11
कोरोना भाइरस (कोभिड १९) का कारण देश लकडाउन भएको तीन महिना वितिसकेको छ । विकल्पहीन शैलीमा गरिएको लकडाउनले जनता भोकले मर्ने अवस्था आएपछि बिहीवारबाट लकडाउन केही खुकुलो बनाइएको छ । तीन चरणमा लकडाउन खोल्ने योजनासहित सरकारले पहिलो चरणमा पसलहरु खोल्न दिने र सवारी साधनमा जोर-विजोर प्रणाली लागू गर्दैछ । 
 
लकडाउन खुकुलो हुने भएपछि मानिसको मुहारमा खुसी छाएको छ । तीन महिनादेखि घरमै सीमित हुँदा धेरैलाई छट्पटि भएको थियो । कतिलाई मानसिक समस्या समेत देखिएको छ । आम सर्वसाधारण जस्तै नेपाली सेलिब्रेटीहरुलाई पनि लम्बिँदो लकडाउनले सकस बनाएको थियो । लकडाउन खुकुलो बनाउने सरकारको निर्णयले उनीहरुको मुहार पनि उज्यालो भएको छ ।
 
 
अभिनेता पुष्प खड्का लकडाउन हुनुभन्दा एक हप्ता अगावैदेखि घरमा बस्न थालेका थिए । लकडाउनको सुरुवाती केही दिन उनलाई निकै रमाइलो लाग्यो । वर्षौपछि परिवारसँग समय विताउन पाएकोमा उनी खुसी थिए । लकडाउनको एक महिनादेखि भने उनलाई दिन काट्नै गाह्रो हुन थाल्यो । अहिले उनलाई न इन्टरनेटमा फिल्म हेर्न मन लाग्छ न त अन्य काम गर्न नै । 
 
तीन महिनादेखि घरभित्रै सीमित हुनु पर्दा उनलाई उकुसमुकुस भएको छ । लकडाउनअघि दैनिकजसो फिल्म वा म्यूजिक भिडियोको छायांकनमा व्यस्त हुने पुष्प अहिले सबैभन्दा बढी आफ्नो कामलाई मिस गरिरहेका छन् । उनी भन्छन्, ‘सुटिङ सेटमा परिवार जसरी मिलेर काम गरिन्थ्यो । अहिले ती कुराहरु मिस गरिरहेको छु । कहिले सुटिङ सेट ज्वाइन गरौ जस्तो भएको छ ।’
 
लकडाउनअघिसम्म राजनीतिप्रति कुनै चासो नभएका पुष्पलाई अहिले भने राजनीतिक गतिविधिका बारेमा चासो बढ्न थालेको छ । उनले भने- ‘लकडाउनकै समयमा भारतले नेपालको भूमि लिपुलेकमा बाटो खनेको खुलासा भयो । यसपछि झन् देशको माया बढेको छ । अतिक्रमण भएको भूमि फिर्ता ल्याउन के कस्ता प्रयास भएका छन् भन्नेमा अहिले चासो दिन थालेको छु ।’
 
लकडाउनले जीवनलाई नजिकबाट महशुस गर्न सिकाएको बताउने अभिनेता खड्का घरभित्रै बस्दा केही मोटाएका छन् । जसले उनलाई चिन्तित बनाएको छ । लकडाउन खुलेपछि केही हप्ता मोटाएको शरीर सन्तुलनमा ल्याउन उनी जिम ज्वाइन गर्ने सोचमा छन् । त्यसपछि काममा फर्किने उनको योजना छ । तर, दशैंअघिसम्म काममा फर्किन पाइन्छ भन्नेमा उनलाई विश्वास छ ।
Most Visited News (monthly)