.jpg)
मंगलवारबाट ५६औं वर्षमा प्रवेश गरेका नेपाली फिल्मका सर्वाधिक लोकप्रिय अभिनेता राजेश हमालले आफ्नो परिवारसँग जन्मदिन मनाएका छन् । कोरोना भाइरसका कारण विगत तीन महिनादेखि सरकारले जारी गरेको लकडाउनका कारण घरको चारकुनामा सीमित भएका उनले मंगलवार आफ्नै निवास कपुरधारामा बर्थडे केक काटेर जन्मदिन सेलिब्रेट गरेका हुन् ।
उनले परिवारसँग जन्मदिन मनाएको तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट्याएका छन् । तस्विरमा उनी श्रीमती मधु भट्टराईलाई केक खुवाउँदै देखिएका छन् । हमालले घर नजिकै रहेको एक नेवारी रेस्टुरेन्टमा बर्थडे केक काटेर एक गीतमा नाचेको भिडियो पनि शेयर गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा पूजाआजा गरेको एक भिडियो पनि फेसबुकमा राखेका छन् ।
यस्तै, जन्मदिनको अवसरमा हमाललाई एक शुभचिन्तकले घरमै पुगेर आकर्षक साइकल उपहार दिएका छन् । उपहार स्वरुप पाएको साइकल लिँदै गरेको भिडियोमा हमाल निकै खुसी देखिएका छन् । उनले आफ्ना हेयर डिजाइनर राम ठाकुरलाई बर्थडे केक खुवाएको तस्विर पनि फेसबुकमा पोस्ट्याउँदै आफूलाई जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
९ जुन, १९६४ मा पाल्पाको तानसेनमा पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका राजेश हमाल नेपाली फिल्मका सबैभन्दा सफल र लोकप्रिय अभिनेता मानिन्छन् । नेपाली फिल्मलाई यो स्थानसम्म ल्याइपुर्याउन उनको ठूलो योगदान छ । नेपाली दर्शकमाझ ‘महानायक’ को रुपमा परिचित उनी पछिल्लो पटक फिल्म ‘शकुन्तला’ मा देखिएका थिए ।

