Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

हलभन्दा अगाडि टिभीमा रिलिज हुँदै ‘हिरो रिटर्न्स’

फिल्मीखबर, काठमाडौं, 2020/06/08
२०७३ सालमा निर्माण घोषणा गरिएको फिल्म हो, ‘हिरो रिटर्न्स’ । अभिनेत्री रेखा थापाको डेब्यू फिल्म ‘हिरो’ नामको पछाडि रिटर्न्स जोडेर निर्माण भएको यो फिल्म अझैसम्म हलमा प्रदर्शन हुन सकेको छैन । निर्माणको चार वर्षमा फिल्मको थुप्रै पटक प्रदर्शन मिति तोकियो । तर, विभिन्न कारणले हलमा लाग्न सकेन । फिल्मको ट्रेलरदेखि गीतसम्म यूट्युबमा सार्वजनिक भैसकेका छन् ।
 
गत वर्ष निर्माण टिमले फिल्मको एक्सनपूर्ण ट्रेलर सार्वजनिक गर्दै यस वर्षको बैशाख २६ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको थियो । तर, फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा देशमा कोरोना भाइरसको त्रास सुरु भयो । सरकारले यसको संक्रमण फैलिन नदिन अनिश्चितकालका लागि लकडाउनको घोषणा गरेपछि निर्माण टिमले पुनः फिल्मको प्रदर्शन मिति स्थगित गर्‍यो ।
 
 
अब भने फिल्म प्रदर्शन हुने भएको छ । तर, हलमा होइन टिभीमा । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री रेखा थापा अभिनीत ‘हिरो रिटर्न्स’ लाई निर्माण टिमले हलभन्दा अगाडि टिभीमा रिलिज गर्ने निर्णय लिएको छ । फिल्म यही जेठ ३० गतेबाट डिस होममा रिलिज हुँदैछ । निर्माता धुव्र न्यौपानेले स्थिति सामान्य भएपछि फिल्मलाई हलमा प्रदर्शन गर्ने तयारी पनि गरेको बताए ।  
 
उनले लकडाउन खुलेको ६ महिनासम्म हलमा दर्शक आउने अवस्था नरहने भएकाले पहिला टिभीमा फिल्म रिलिज गर्न लागेको बताए । उनले भने, ‘फिल्म निर्माण भएको चार वर्ष भइसक्यो । धेरै पटक हलमा फिल्म प्रदर्शन गर्ने तयारी गरेता पनि सफल भएन । कोरोनाका कारण अझै ६ महिना हलमा फिल्म प्रदर्शन गर्ने अवस्था नहुने देखेपछि पहिला टिभीमा रिलिज गर्न लागेका हौं ।’
 
टिभीमा फिल्म रिलिज गरेपछि हलको व्यापारमा असर गर्दैन ? भन्ने फिल्मीखबरको प्रश्नमा निर्माता न्यौपानेले निराश भावमा भने, ‘असर त गर्छ । तर, कहिलेसम्म तयार भैसकेको फिल्म थन्काएर राख्ने ? अब जे होला त्यही टर्ला ।’ हलमा नलाग्दै टिभीमा रिलिज हुन लागेको यो पहिलो फिल्म भने होइन । लकडाउनकै समयमा फिल्म ‘कोपिला’ पनि सिधै डिस होममा रिलिज भएको थियो । 
 
कोरोनाका कारण अहिले धेरै निर्मातालाई मार्का परेको छ । लकडाउनले गर्दा सिनेमा हल बन्द हुँदा करोडौं खर्चिएर निर्माण गरेको फिल्म कम्प्युटरको हार्डडिक्समा थन्किएका छन् । कोरोनाको त्रासले लकडाउन खुलेको लामो समयसम्म हलमा दर्शक आउने अवस्था छैन । जसले गर्दा निर्माताहरु हल खुल्ने प्रतिक्षामा बस्ने वा अन्य प्ल्याटफर्ममा फिल्म रिलिज गर्ने भन्नेमा अन्योल छन् ।
Most Visited News (monthly)