
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देश लकडाउन गरेको पनि २ महिना वितिसकेको छ । तर, अझै लकडाउन खुल्ने कुनै संकेत देखिएको छैन । दिन दुई गुना, रात चौगुना फैलिरहेको संक्रमणका कारण लकडाउन तत्काल खुल्ने सम्भावना न्यून छ । यद्यपि, मानिस रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि सरकारले लकडाउन केही खुकुलो भने बनाएको छ ।
कोरोनाको त्रासले मानिसहरु घरको चारकुनामा दिन विताइरहेका छन् । नेपाली कलाकारहरुले पनि आम सर्वसाधारणझैँ घरभित्रै बसेर लकडाउनको पालन गरेका छन् । लकडाउनका सुरुवाती केही दिन घरमा परिवारसँग समय विताउन पाएकोमा खुसी देखिएका कलाकारहरु अहिले घरभित्रै सीमित हुनुपर्दा दिकदार भएका छन् । अहिले उनीहरु कामलाई मिस गरिरहेका छन् ।
लकडाउनका कारण साथीहरुसँग प्रत्यक्ष भेट गर्न नपाएका कलाकारहरु सामाजिक सञ्जालको माध्यमबाट एकअर्काको बारेमा जानकारी लिइरहेका छन् । अभिनेत्री परमिता एलआर राणालाई भने लकडाउनको समयमा दिन विताउने साथी बनेकी छन्, अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता । एकअर्काका छिमेकी रहेका कविता र परमिता अहिले घनिष्ट साथी बनेका छन् ।
अभिनेत्री परमिताले शनिवार आफ्नो आधिकारिक इन्स्टाग्राममा कवितासँग घरको छतमा खिचेका तस्विर साझेदार गरेकी छन् । सन् २००८ को पहिरन लगाएर खिचेको तस्विरमा उनीहरु एकअर्कासँग निकै निकट देखिएका छन् । कविता र परमिताको तस्विर अभिनेत्री करिश्माले पनि शेयर गर्दै बच्चाहरुको दिन विताउने तरिका भन्दै ज्ञानी भएकोमा खुसी व्यक्त गरेकी छन् ।

