तीन दशकदेखि फिल्म क्षेत्रमा सक्रिय निर्देशक दयाराम दाहाल नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । नेकपा निकट मानिने उनलाई बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले ६ महिनादेखि रिक्त रहेको बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । अब उनले बोर्डमा २ वर्ष विताउनेछन् । उनी वर्तमान बोर्डका सदस्य समेत हुन् ।
निर्देशक दाहाल बोर्ड अध्यक्षमा नियुक्त भएपछि सामाजिक सञ्जालमा फिल्मकर्मीहरुले बधाई दिइरहेका छन् । फिल्म क्षेत्रका हरेक समस्याका बारेमा राम्रोसँग जानकार रहेका कारण उनीबाट फिल्मकर्मीले ठूलो आश बोकेका छन् । कोरोना भाइरसका कारण थिलथिलो बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन बोर्डको तर्फबाट उनले महत्त्वपूर्ण भूमिका खेल्ने धेरैको विश्वास छ ।
चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि आफूले पाउने तलवबाहेक अरु पैसा कमाए सबैको अगाडि आत्महत्या गर्ने उद्घोष गरिसकेका निर्देशक दाहाल यस्तो चुनौतीपूर्ण अवस्थामा बोर्डको कुर्सी सम्हाल्न पुगेका छन् कि उनीसामु फिल्म क्षेत्रका समस्याका चाङ मात्र छन् । कोरोनाले उत्पन्न गराएका समस्या समाधान गर्नु अहिलेका लागि उनको पहिलो प्राथमिकता हो ।

हल सञ्चालकहरु बजेटमा सरकारले हललाई उपेक्षा गरेको भन्दै आक्रोशित छन् । तत्काल सिनेमा हलको समस्या सम्बोधन नगरिए सरकारलाई हलको चाबी बुझाउने उनीहरुको चेतावनी छ । त्यस्तै, प्राविधिक संघ एक वर्षसम्म फिल्म प्राविधिकलाई राहतको व्यवस्था गर्न माग गरिरहेको छ । निर्माता संघले पनि कोरोनाले गर्दा समस्यामा परेका निर्मातालाई राहतको माग गरेको छ ।
कोरोनाका कारण फिल्म क्षेत्रमा उब्जिएका समस्याहरुलाई तत्काल समाधान गर्न अध्यक्ष दाहालले प्रभावकारी पहलकदमी लिनेमा धेरै आशावादी छन् । कोरोनाको महामारीका कारण २ महिनादेखि फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि हुन सकेका छैनन् । यही अवस्था रहे फिल्म क्षेत्रमा ठूलो संकट उत्पन्न हुने देखिन्छ । यसतर्फ पनि अध्यक्ष दाहालले ध्यान दिन आवश्यक छ ।
बक्सअफिसको कार्यन्वयन गर्नुपर्ने चुनौती पनि उनीमाथि छ । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सरकारले घोषणा गरेको सातै प्रदेशमा छायांकन स्थल निर्माण गर्ने जिम्मेवारी पनि अब उनको काँधमा आइपरेको छ । काठमाडौंमा अत्याधुनिक इन्डोर फिल्म स्टूडियो निर्माण गर्ने सरकारको घोषणालाई पनि उनले आफ्नो २ वर्षे कार्यकालमा मूर्तरुप दिनुपर्ने देखिन्छ ।
हास्यकलाकार दीपकराज गिरीले बोर्ड अध्यक्षको बारेमा लेखेको स्टाटसबाट पनि अध्यक्ष दाहालमाथि फिल्मकर्मीले कति आश गरेका छन् भन्ने बुझ्न सकिन्छ । उनले लेखेका छन्, ‘चलचित्र विकास बोर्डको अध्यक्ष पद सुटकेशसँग साटिएको विगत अझै सम्झनामै छ । यो सरकारले सुटकेश बोक्न नसक्ने तर चलचित्रकर्मीको आवाज बोक्न सक्ने व्यक्तिलाई नियुक्त गरेको छ ।’
दीपकराज गिरीले भनेझैँ उनलाई फिल्मकर्मीको आवाज बोल्न सक्ने व्यक्तिको रुपमा हेरिएको छ । हुनत, यसअघि पनि केही आश गरिएका अनुहार बोर्डमा नआएका होइनन् । तर, कसैको कार्यकाल बोर्डको भित्तामा फोटो झुण्ड्याउनुभन्दा बाहेक अरु उपलब्धि हुन सकेन । निर्देशक दयाराम दाहालको कार्यकाल पनि ‘हात्ति आयो हात्ति आयो फुस्स’ झैँ नहोस्, शुभकामना ।

