Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकारलाई हलको चाबी बुझाउने उदयको चेतावनी

फिल्मीखबर, काठमाण्डौ, 2020/06/02
 
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि हरेक क्षेत्र प्रभावित भएका छन् । फिल्म क्षेत्रमा पनि लकडाउनपछि कुनै गतिविधि भएका छैनन् । सिनेमा हल पूर्ण रुपले बन्द हुँदा प्रदर्शनको तयारीमा रहेका फिल्म हार्ड डिक्समा थन्किएका छन् भने निर्माणाधिन फिल्मको छायांकन अपुरैमा रोकिएको छ । 
 
फिल्मसँग सम्बन्धित सम्पूर्ण काम रोकिँदा हजारौंको संख्यामा बेरोजगार भएका छन् । तर, नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा मौलिक फिल्मलाई प्रोत्साहित गर्ने, सातै प्रदेशमा छायांकन स्थल बनाउने र कलाकार संघको भवन निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरे पनि कोरोनाका कारण समस्यामा रहेको फिल्म क्षेत्रका कुनै कुरालाई सम्बोधन गरेन ।
 
सरकारले भवन निर्माणका लागि बजेट विनियोजन गर्ने भएपछि कलाकार संघ दंग छ । तर, फिल्मसँग सम्बन्धित अन्य संघ संस्थाहरु यस वर्षको बजेटले नेपाली फिल्म क्षेत्रलाई कुनै प्रकारको राहत नमिलेको भन्दै गुनासो गरिरहेका छन् । हल सञ्चालक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले बजेटमा सिनेमा हललाई उपेक्षा गरिएको भन्दै असन्तुष्टि जनाएको छ । 
 
संघका निर्वतमान अध्यक्ष तथा हल सञ्चालक प्रदीप कुमार उदयले आर्थिक वर्ष २०७७/७८ को बजेटमा चलचित्र क्षेत्रलाई अति प्रभावित व्यवसायको रूपमा अन्य व्यवसायलाई जत्ति छुटको दायरामा नराखेकोमा आफू अचम्मित भएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले सरकारले फिल्म क्षेत्रलाई प्राथमिकतामा नराखे हलको चाबी बुझाउने पनि चेतावनी दिएका छन् ।
 

उनले लेखेका छन्, ‘कोरोना महामारीको अति प्रभावित क्षेत्रमा परेका होटल, ट्राभल ट्रेकिङ, यातायात, पर्यटन, हवाई सेवा व्यवसाय जस्तै चलचित्र क्षेत्र पनि हो । अझ चलचित्र क्षेत्र त कोरोना महामारीबाट उन्मुक्ति पाएपछि पनि लामो समयसम्म प्रभावित पर्ने व्यवसाय हो । तर, प्रस्तुत २०७७/७८ को बजेटमा चलचित्र क्षेत्रलाई अति प्रभावित व्यवसायको रूपमा अन्य व्यवसायलाई जत्तिको छुटको दायरामा नराखिएको देख्दा अचम्मित छु ।’
 
चलचित्र क्षेत्रलाई चलायमान बनाउन सरकारले प्राथमिकतामा नराखे चलचित्र क्षेत्रसँग सम्बन्धित धेरै बेरोजगार हुने र चलचित्र क्षेत्र नै तहसनहस हुने उनको भनाई छ । यसप्रति नेपाली चलचित्र क्षेत्र सचेत रहन जरुरी रहेको बताउँदै निर्माता समेत रहेका उदयले थपे- ‘सरकारले हाम्रो यो कुरा नबुझ्ने हो भने हामी चलचित्र घरहरूमा ताला लगाएर सरकारलाई चाबी बुझाउन बाध्य हुने छौं ।’
Most Visited News (monthly)