Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विराजको स्पष्टिकरण : ‘मैले ८ लाख सहयोग गर्न लागेको झुट हो’

फिल्मीखबर, काठमाडौं, 2020/04/17
 
कोभिड १९ ले विश्वका शक्तिशाली राष्ट्रलाई समेत छाडेको छैन । २ सयभन्दा बढी राष्ट्रमा फैलिसकेको यो भाइरस संक्रमितको संख्या नेपालमा पनि बढिरहेको छ । केही दिनअघि पेप्सीकोलाको एक अपार्टमेन्टमा एकै परिवारका दुई जनामा यसको संक्रमण देखिएपछि मानिसमा झनै त्रास उत्पन्न भएको छ । यो भाइरस फैलिन नदिन सरकारले लकडाउनलाई थप कडाई गरेको छ । 
 
कोरोनाविरुद्ध लड्नका लागि नेपालका ठूला व्यापारिक घरानाहरुले सरकारले खडा गरेको राहत कोषमा आर्थिक सहयोग गरिरहेका छन् । तर, अभिनेत्री वर्षा सिवाकोटीबाहेक अन्य नेपाली कलाकारहरुले भने कोरोना रोकथामका लागि सहयोग गरेका छैनन् । बरु, रोजीरोटी गुमेर बिहान बेलुका हातमुख जोर्न समस्या भएका प्राविधिकहरुलाई सहयोग गर्न अगाडि सरेका छन् । 
 
नेपाली फिल्मका एक्सन स्टार विराज भट्टले कोरोना भाइरस रोकथामका लागि ८ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको खबरले केही दिनयता सामाजिक सञ्जाल खुबै तातेको छ । तर, यो कुराको जानकारी विराज स्वयंले नदिएका कारण धेरैलाई विश्वास लागेको थिएन । यसबीच, उनले फिल्मीखबरसँग फोनवार्तामा आफूले सहयोग घोषणा गरेको कुरा हल्ला मात्र रहेको बताए । 
 
लकडाउनपछि परिवारसँग भक्तपुरको बालकोटस्थित रोज भिलेजमा बस्दै आएका अभिनेता भट्टले भने- ‘मैले अहिलेसम्म आर्थिक सहयोगको कुनै घोषणा गरेको छैन । सामाजिक सञ्जालमा मैले ८ लाख दिन लागेको भन्ने हल्ला फैलिएको रहेछ । त्यो हल्ला कसले फैलायो मलाई थाहा भएन । तर, मैले कोरोना रोकथामका लागि अहिलेसम्म आर्थिक सहयोग दिने घोषणा गरेको छैन ।’
 
उनले कोरोनाबाट बच्न लकडाउनको पालन गर्न र अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर ननिस्कन पनि आग्रह गरे । ‘यो भाइरसले धनी/गरिब कसैलाई पनि चिन्दैन । सरकारले हाम्रै हितका लागि लकडाउन गरेको हो । त्यसैले घरभित्रै बसेर कोरोनाविरुद्धको लडाईंमा सहभागी हौं,’ अभिनेता भट्टले भने । उनी अभिनीत फिल्म ‘साङ्लो’ गत वर्ष प्रदर्शनमा आएको थियो ।
Most Visited News (monthly)