.jpg)
कोरोना भाइरसको संक्रमणले अहिले विश्व नै आतंकित बनेको छ । समग्र जनस्वास्थ्यमा एकैचोटी ठूलो चुनौती देखापरेको छ, जसको परिणामस्वरुप विश्व अर्थतन्त्र नै प्रभावित हुँदैछ । युरोप तथा अमेरिकाजस्ता मुलुकमा यस भाइरसको संक्रमण र मृत्यु हुनेको बढ्दो संख्याले विश्व समुदायलाई नै त्रसित बनाएको छ । नेपालमा समेत यो भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले तीन हप्ता लामो लकडाउन गरिसकेको छ । बैशाख ३ गतेबाट लकडाउन केही खुकुलो हुने धेरैको अपेक्षा थियो । तर, चैत ५ गते बेलायतबाट आएर पेप्सिकोलास्थित सनसिटी अपाटर्मेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि लकडाउनमा थप कडाई गर्नुका साथै यो अवधि बैशाख १५ गतेसम्म लम्ब्याइएको छ ।
लकडाउनका कारण सेलिब्रेटीहरु पनि घरभित्रै कैद भएका छन् । चर्चित कलाकार दीपकराज गिरी भने एफएमका कार्यक्रम समेत चलाउने हुँदा हप्तामा एक दिन बाहिर निस्कने गर्दछन् । बुधवार एफएम जाने क्रममा उनले नीलो रंगको टोपी, कालो रंगको मास्क र चस्मा लगाएर काठमाडौंको सडकमा खिचेको एक तस्विर फेसबुकमा पोस्ट्याउँदै ‘यो म नै हुँ’ भनेर आफूलाई चिनाएका छन् ।
कलाकार दीपकराज गिरीले अहिले मान्छेसँग डर लाग्ने गरेको बताउँदै लेखेका छन्, ‘पहिला पहिला, बाटोमा मान्छेले चिन्लान् भनेर मास्क लगाउथेँ । आजकल कोरोनाले नचिनोस् भनेर लगाउँछु । पहिला बाघ, भालुसँग डर लाग्थ्यो, आजकल मान्छेसँगै नै डर लाग्छ । तर, जे हुँदैछ केही न केही राम्रोको लागि हुँदैछ ।’ उनले पोस्ट्याएको तस्विरमा काठमाडौंको सडक चिल्लो देखिएको छ ।
उनले घरमा बसेर आफूहरु फुस्रो भए पनि राजधानीको सडक चिल्लो भइरहेकोमा खुसी व्यक्त गरेका छन् । उनी लकडाउन हुनुभन्दा अगावैदेखि यस वर्षको दशैंको फूलपातीमा प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ४’ को स्क्रिप्ट लेख्नका लागि होम क्वारेन्टाइनमा बस्न थालेका थिए । उनको टिमले रोजीरोटी गुमेका फिल्म प्राविधिकलाई आर्थिक सहयोग पनि गरेको छ ।

